Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इसेवा स्थापनाको १५ वर्ष, १५ दिनको लागि विशेष योजनाहरू सार्वजनिक

इसेवा स्थापनाको १५ वर्ष, १५ दिनको लागि विशेष योजनाहरू सार्वजनिक

आर्थिक पत्र
शुक्रवार, माघ १२ २०८०
  • भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औं वार्षिकोत्सव मनाउँदैछ। 

    यसै अवसरमा कम्पनीले आफ्नो ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक र नियमक निकायहरूप्रति आभार व्यक्त गरेको छ। यसबाहेक आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष १५ वटा विभिन्न अफरहरू सार्वजनिक गरेको छ। 

    यो अफर माघ ११ (जनवरी २५) गतेदेखि माघ २५ (फेब्रुअरी ८) गतेसम्म सञ्चालनमा रहनेछ। अफरअन्तर्गत इसेवामार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन-१५ जित्न सक्नेछन्।

    यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले एक हजार पाँच सय १५ रूपैयाँमा आन्तरिक हवाई टिकट पाउन सक्नेछन्।

    इसेवा केयर खरिद गर्नेमध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सक्नेछन्।

    यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले एक सय ५० रूपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरिएको छ। स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले पाँच हजारसम्मको क्यासब्याक पाउन सक्नेछन्। यी लगायत इसेवाले विभिन्न अफरहरू सार्वजनिक गरेको हो। 

    इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

    नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन सार्वजनिक गरेर सन् २०१० जनवरी २५ बाट सेवा सुरू गरेको इसेवाले १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको हो। 

    नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न इसेवाले महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको कम्पनीले जनाएको छ।

    १५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगदीश खड्काले आगामी दिनमा इसेवाको मोबाइल एपलाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिने विशेषतासहितको सुपर एपको रूपमा विकास गर्ने लक्ष्य लिएका बताए।

    १५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।

    हाल देशभर करिब दुई लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू छन्। इसेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ।

    इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ। 

    आगामी दिनमा इसेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरी प्रत्येक नेपाली नागरिकलाई नविनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार