Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा, अन्तरदेशीय क्यूआर भुक्तानी सजिलो हुने

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा, अन्तरदेशीय क्यूआर भुक्तानी सजिलो हुने

आर्थिक पत्र
मंगलवार, फाल्गुण २२ २०८०
  • काठमाडौं । नेपालमा सबैभन्दा धेरै पर्यटकहरू हाम्रो छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन । यो त हामी सबैलाई थाहा भएकै कुरा भयो। दुई ढुङ्गा बीचको तरुल भनिएको हाम्रो देश नेपालले विश्वको दुई ठूलो आर्थिक शक्तिको बीचमा रहेर राम्ररी रणनितीक फाइदा उठाउन बाँकी नै छ ।

    यी दुई ठूला अर्थतन्त्रबाट नेपालले जति फाइदा उठाउन पर्ने हो वा उठाउन सक्छ, त्यसप्रति खासै धेरै कार्य भएका छैनन्। हाम्रो अर्थतन्त्रको बलियो खम्बा रहेको पर्यटन व्यवसायमा पर्यटकहरूलाई सहजता प्रदान गर्न अझै बाँकी नै छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब सुचारु भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्यूआर कोड मार्फत डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ ।

    फोनपे क्यूआर लिएका साना तथा मझौला व्यवसाय संचालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवा प्रा. लि. ले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी गराएको छ । नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो । अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भिम–यूपीआई र फोनपे (एजयलभएभ) को प्रयोग मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

    नेपालभरी ४ लाख ५० हजार भन्दा बढी इसेवाका क्यूआर मर्चेन्टहरू रहेका छन् । अहिले बजारको अर्थतन्त्रमा रहेको यो आवश्यकता पूरा गरी मोडर्न डिजिटल अर्थतन्त्र मार्फत दुई देश बीचको दूरीलाई घटाउँदै सुमधुर बनाउनेमा इसेवा विश्वस्त रहेको जानकारी गराएको छ । हाल साना तथा मझौला व्यवसायीहरूलाई स्वचालित रूपमा यो सेवा उपलब्ध गराइएको भएतापनि अन्य व्यवसायीहरूले पनि यो सेवा लिन चाहेमा इसेवालाई सम्पर्क गर्नलाई अनुरोध गरिएको छ ।

    अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहजता ल्याएसँगै भारतीय नक्कली नोटको प्रयोगबाट व्यवसायीहरू ठगीने क्रममा कमी आउने पनि विश्वास गरिएको छ । इसेवाले भने आफ्ना मर्चेन्टहरूलाई उनीहरूको व्यवसायका ग्राहकलाई सहजता प्रदान गरी ग्राहक सन्तुष्टी बढ्ने धारणा राखेको छ । यसले नगद सटहीको झन्झटबाट व्यवसायीहरूलाई तथा भारतीय ग्राहकहरूलाई नगद तथा चानचुनको झन्झटबाट मुक्त गराउने विश्वास गरिएको छ । सो सेवा प्रयोग गरेबापत मर्चेन्टहरूलाई प्रति कारोबार निश्चित न्यूनतम सेवा शुल्क भने लाग्ने पनि इसेवाले जनाएको छ ।

    भारतीय पर्यटकले नेपालमा सहजै डिजिटल भुक्तानी गर्न पाउने भएतापनि अहिलेलाई नेपाली नागरिकले भारतमा सजिलै डिजिटल भुक्तानी भने गर्न पाउने छैनन् । यस सम्बन्धी कार्य भइरहेको र निकट भविष्यमा छिटै आफ्नो आधिकारिक सामाजिक संजालका आधिकारिक पेजमार्फत जानकारी गराउने पनि इसेवाको ब्लगमा उल्लेखित छ ।

    इसेवाले गत जनवरी १५ मा आफ्नो १५ औँ वार्षिकोत्सव मनाउँदै गर्दा वित्तीय समावेशीकारण तथा वित्तीय पहुँचलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय भुक्तानी सेवासँगै अन्य विविध सेवा ल्याउने पनि जानकारी गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार