Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मुस्ताङमा एक वर्षमा आए ४ लाख २७ हजार पर्यटक

मुस्ताङमा एक वर्षमा आए ४ लाख २७ हजार पर्यटक

आर्थिक पत्र
मंगलवार, श्रावण १ २०८१
  • म्याग्दी ।  मुस्ताङका पर्यटकीयस्थल घुम्न एक वर्षमा ४ लाख २७ हजार पर्यटक आएका छन्।

    स्ताङ भित्रने एकमात्र बेनी–जोमसोम सडक हुँदै आव ०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार ५०४ जना धेरै पर्यटक आएका हुन्।

    घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क तथा विवरण राख्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार ३७४ वटा सवारीसाधनमार्फत ४ लाख २७ हजार २७१ जना पर्यटक भित्रिएको जानकारी दिए। 

    ३ लाख १८ हजार ८१४ जना आन्तरिक, ९९ हजार २७६ जना सार्क राष्ट्रका र ९ हजार १७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएको उनले बताए। 

    आव ०७९/८० मा ६२ हजार ३४० वटा सवारीसाधनबाट ३ लाख ७९ हजार ७६७ जना पर्यटक मुस्ताङ आएका थिए। जसमध्ये आन्तरिक पर्यटक ३ लाख ३ हजार ८ सय जना र विदेशी ७५ हजार ९६७ जना रहेका थिए।

    सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रशिद्ध सञ्चारमाध्यमले संसारका उत्कृष्ट १० गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए। 

    मुस्ताङभित्रने विदेशी पर्यटकमध्ये ठूलो संख्या भारतीयको छ। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफालगायत मुस्ताङका आकर्षण हुन्। 

    मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थल छन्। 

    सार्क मुलुकबाहिरका पर्यटकको संख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताइन्।

    उनका अनुसार स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार