काठमाडाैं । लगानी बोर्डको कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ‘सर्टलिष्ट’मा परेका पाँच उम्मेदवारको आगामी मंगलबार अन्तरवार्ता हुने भएको छ ।
प्रधान्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको छनोट समितिले आज (आइतबार) सूचना जारी गर्दै अन्तरवार्ताको मिति सार्वजनिक गरेको हो । उक्त दिन ३ बजे नयाँ बानेश्वरस्थित बोर्डको कार्यालयमा अन्तरवार्ता सुरु हुनेछ । अन्तरवार्ताका क्रममा उम्मेदवारले आफ्नो रणनीति तथा कार्ययोजना पनि पेश गर्नुपर्नेछ । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएपछि सरकारले गत साउनमा नयाँ सीईओ छनोट प्रक्रिया अघि बढाएको थियो ।
सीईओका लागि आवेदन दिएकामध्येबाट पाँच जना सर्टलिस्टमा परेका छन् । सर्टलिष्टमा बिष्णु भट्टराई, रघुराज काफ्ले, सुशील ज्ञवाली, रामदेव यादव र भीष्मराज ढुंगाना परेका छन् । अन्तरवार्तापछि समितिले तीन जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाउने छ । उनीहरुमध्येबाट एक जनालाई सीईओ नियुक्त गरिने छ ।



