काठमाडौं । नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको ८ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरले विकास ऋणपत्र–२०९१ बिक्रीसम्बन्धी सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ऋणपत्र बिक्री गर्न लागेको जानकारी दिएको हो।
कार्यालयले २०८३ कात्तिक १७ गते प्रकाशित गरेको सूचनाअनुसार नेपाल सरकारले ८वर्षे अवधिको विकास ऋणपत्र–२०९१ (एनपीडीबी०८०५२०९१) जारी गर्न लागेको हो। उक्त ऋणपत्रको कुल रकम १० अर्ब रुपैयाँ रहेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार उक्त विकास ऋणपत्र २०८३ कात्तिक १८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ भने २०८३ कात्तिक १९ गते निष्कासन गरिनेछ।
ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋणपत्र बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। त्यसका लागि कार्यालयले आफ्नो ऋण व्यवस्थापन प्रणालीको वेबसाइट https://doms.gov.np/csd/MainTree.do उपलब्ध गराएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त विकास ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरूले समेत सहभागिता जनाउन सक्नेछन्।
सरकारले आन्तरिक स्रोतबाट वित्तीय आवश्यकता व्यवस्थापन गर्न तथा सार्वजनिक खर्चका लागि आवश्यक स्रोत जुटाउन विकास ऋणपत्र जारी गर्दै आएको छ। पाँच वर्षे अवधिको यस ऋणपत्रमार्फत सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ।
यस विकास ऋणपत्रको विशेषता, बोलकबोल प्रक्रिया तथा सहभागितासम्बन्धी विस्तृत जानकारीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आधिकारिक वेबसाइट www.pdmo.gov.np मा उपलब्ध ऋणसम्बन्धी सूचनाहरू हेर्न सकिने कार्यालयले जनाएको छ।


