काठमाडौं । महालेखा परिक्षकको कार्यालयले मर्जर तथा प्राप्तिमा गएका ११ बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब बढी कर असुल गर्नु पर्ने उल्लेख गरेको छ । बिजनेश कम्बिनेसनबाट प्राप्त लाभलाई लाभ देखिई आयकर तिर्नु पर्नेमा कर नतिरेकोले उनीहरुले लाभको ३० प्रतिशतले हुन आउने कर २ अर्ब ४७ करोड ४३ लाखमा शुल्क र ब्याज समेत छानविन गरि कर निर्धारण गर्नु पर्ने महालेखाले प्रतिवेदन मार्फत जनाएको हो ।
महेलेखाले भनेको छ ‘ आयकर ऐन, २०५८ को दफा २२ को उपदफा (१) मा कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्तअनुरूप हुने, उपदफा ३ मा कम्पनीले कर प्रयोजनको लागि एक्रुअल आधारमा लेखाङ्कन गर्नुपर्ने र दफा ७ मा व्यवसायबाट भएको सबै लाभ तथा मुनाफा व्यवसायको आयमा समावेश हुने व्यवस्था छ ।
त्यसैगरी नेपालका बैङ्क एवं वित्तीय संस्थाहरूले कम्पनी ऐन, २०६३ को दफा १०८ बमोजिम दोहोरो लेखा प्रणालीअनुसार कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रूपमा प्रतिविम्वित हुने गरी प्रचलित कानूनबमोजिम अधिकार प्राप्त निकायले लागू गरेको लेखामानअनुरूप लेखा राख्नुपर्ने व्यवस्था छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको नेपाल वित्तीय प्रतिवेदनमान-३ (बिजनेश कम्बिनेशन) अनुसार कुनै पब्लिक कम्पनीले प्राप्ति गर्ने वा अर्को कम्पनीमा गाभिने सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ । वित्तीय प्रतिवेदनमानमा प्राप्ति गर्ने कम्पनीले प्राप्ति हुने कम्पनीको पहिचान भएको सम्पत्तिहरू प्राप्ति गर्दा र उक्त कम्पनीको पहिचान भएको दायित्व स्वीकार गर्दा बजार मूल्यमा गर्नुपर्ने र पहिचान भएको सम्पत्तिमा स्वीकार गरेको दायित्व घटाई बाँकी खुद सम्पत्ति बापत दिएको साधारण शेयरको बजार मूल्यको आधारमा आउने फरक रकमलाई अवस्थाअनुसार सौदाबाजी गर्दाको लाभ वा ख्यातिको रूपमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था छ ।
लेखामानको उल्लिखित प्रावधान विपरीत मर्जर/एक्विजिसन गर्दा भएको लाभलाई प्राप्ति गर्ने कम्पनीले सोझै आफ्नो इक्विटीमा भएको परिवर्तन विवरणमा एक्विजिसन रिजर्भ, जेनेरल रिजर्भ, क्यापिटल रिजर्भ लगायतका शीर्षकमा देखाएको छ।

