Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु

सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु

आर्थिक पत्र
मंगलवार, पौष ९ २०८१
  • तानसेन- पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु भएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो सुरुङमार्ग निर्माणले एक वर्षयता तीव्रता पाएको छ।

    त्यहीक्रममा यो सुरुङमार्गका तीनवटै बाइपासको ब्रेकथ्रु भएको निर्माण आयोजनाले जनाएको छ ।

    आयोजनाका अनुसार बाइपास सुरुङ ३ को गत भदौ २६ गते नै ब्रेक थ्रु भइसकेको थियो । त्यसपछि बाइपास सुरुङ १ को पनि गत असोज ४ गते ब्रेकथ्रु भएको थियो । मुख्य सुरुङसम्मको पहिलो बाइपास १ सय ५१ मिटर लामो छ भने तेस्रो १ सय ३० मिटर लामो छ ।

    त्यसैगरी बाइपास सुरुङ २ को पनि यही पुस ७ गते ब्रेक थ्रु भएको हो । १६१ मिटर लामो यो बाइपास सुरुङ २ पनि ब्रेक थ्रु भएपछि आयोजना निर्माणमा संलग्नहरू उत्साहित भएका छन् । यो सुरुङमार्ग २०७९ फागुनदेखि नै निर्माण थालिएको थियो ।

    तर २०८० को बर्सातमा सुरुङमार्गको ढोकामाथिबाट पहिरो खसेपछि चार महिना काम रोकिएको थियो। तर रातको समयमा काम गरेर तीनवटै बाइपास सुरुमार्गको ब्रेक थ्रु गरिएको हो ।

    आयोजनाका अनुसार मुख्य टनेलको काम करिब १५० मिटर मात्रै बाँकी छ । अहिलेसम्म उत्तर र दक्षिणतर्फ १ किलोमिटट्टर सुरुङको टनेल खनेर सकिएको छ ।

    तीनै बाइपासको टनेल ब्रेक थ्रु भएपछि अब मुख्य टनेलको काम भइरहेको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए। अब मुख्य टनेल ब्रेक थ्रु हुन बाँकी छ।

    सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउन थालिएको हो ।

    एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग बनाउन चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड रुपियाँमा सम्झौता गरेर काम भइरहेको छ।

    सुरुङमार्ग बनेपछि यस क्षेत्रमा खस्ने पहिरो रोकिने विश्वास छ। यो सुरुङ बनेपछि सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, बागलुङलगायतमा आवतजावत सहज हुने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार