Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’

झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’

आर्थिक पत्र
शनिवार, पौष १३ २०८१
  • झापा। झापामा एउटा पाँचतारे होटल थपिएको छ। मेचीनगर नगरपालिका-७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो।

    images

    सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा रु एक अर्ब ३० करोड लगानी भएको बताए। यही सन् २०२५ को जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उनले जानकारी दिए।

    काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ। मेचीनगर-८ मा अर्को पाँचतारे ‘होटल मेची क्राउन’ बिगतदेखि सञ्चालनमा रहेको छ।

    झापामा अब तीन वटा पाँचतारे दर्जाका पर्यटकस्तरीय होटल भएका छन्। विर्तामोडमा यस्तै पाँचतारे होटल ‘किङ्सबेरी’ पनि सञ्चालनमा छ। अरु दुई वटा पाँचतारे स्तरका होटल झापामा प्रस्तावित छन् । यसप्रकार झापा पाँचतारे होटलको हब बनेको छ।

    केही दिनपछि नै सञ्चालनमा आउने होटल ‘अश्वत्थ’ले पाहुनाका लागि अनलाइन बुकिङ खुला गरिसकेको छ। होटलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा भएको प्रमुख व्यवस्थापक कुमार कोइरालाले बताए।

    होटलमा इन्डोर स्वीमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योग साधनाको सुविधा उपलब्ध रहेको उनले जानकारी दिए। क्यासिनोसमेत होटलमा सञ्चालन हुने भएको छ।

    एसियाका ३२ मुलुकलाई स्थलमार्गबाट जोड्ने एसियाली राजमार्गको निर्माण तीव्रगतिमा भइरहेको कारण नेपालको पूर्वीप्रवेशद्वार मेचीनगरमा पर्यटकीय चहलपहल बढ्ने भएकाले उत्साहित भएर पाँचतारे होटलमा आफूले लगानी गरेको सञ्चालक प्रज्ज्वल घिमिरे बताउँछन्।

    भारतका मुख्य सहरमा दैनिक ४० उडान भरिरहेको बागडोग्रा विमानस्थल र रात्रिकालीन सञ्चालन क्षमता भएको चन्द्रगढी विमानस्थलबाट ३० किलोमिटरभन्दा कम दूरीभित्र रहेको मेचीनगर बाह्य र आन्तरिक पर्यटकका लागि बासस्थान भएको उनले बताए।

    “भारतीय, भूटानी र बंगलादेशी पर्यटकलाई लक्षित गरी होटल खोलेका हौं,” उनले भने, “भविष्यमा इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंककबाट पर्यटक नेपाल घुम्न एसियन हाइवे हुँदै नेपालमा सजिलै आइपुग्ने सम्भावना छ। यही सम्भावना देखेर धमाधम अरु होटल पनि खुलिरहेका हुन्।”

    पूर्वीनाकाको पाँच किलोमिटरभित्र काँकडभिट्टा, इटाभट्टा र धुलाबारी बजार क्षेत्र पर्दछन्। इटाभट्टा क्षेत्रमा पाँचतारे ‘अश्वत्थ’ र ‘मेची क्राउन’ रहेका छन्। यी दुबै होटलमा क्यासिनोसमेत सञ्चालन रहेका छन्। काँकडभिट्टाका अरु दुई पर्यटकीय होटलमा मिनी क्यासिनो चलिरहेका छन्।

    अब मेचीनगरमा क्यासिनोको सङ्ख्या चार पुगेको छ। मेचीनगर-१० धुलाबारीमा अर्को एउटा पाँचतारे होटलको भवन निर्माणाधीन अवस्थामा छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा विर्तामोडमा थप एउटा पाँचतारे होटलको निर्माण भइरहेको छ।

    भारतको गोवा र सिक्किममा मात्र क्यासिनो सञ्चालन हुने भएकाले भारतीय धनाढ्य नेपालका क्यासिनोप्रति आकर्षित छन्। क्यासिनो सञ्चालनले होटल व्यवसायसमेतमा टेवा पुगेको छ।

    होटल ‘अश्वत्थ’मा सुरुमै ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। होटलले पर्यटकका लागि हिमाली क्षेत्रको दृश्यावलोकन गराउन माउन्टेन फ्लाइटसमेतको व्यवस्था मिलाएको प्रमुख व्यवस्थापक कोइरालाले बताए। भारतको आसाम, दिल्ली र पश्चिम बंगालका पर्यटकले होटलको बुकिङ गर्न थालिसकेको उनले जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार