काठमाडौं । धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजनाले शुक्रबारदेखि यो प्रणाली सञ्चालनमा ल्याएको हो ।
संविधान दिवसको अवसर पारेर ३ असोज २०८१ देखि धरहरा सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । सुरुवाती चरणमा धरहरा परिसर प्रवेश गर्न र चढ्नका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । त्यही समयमा बुकिङका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको थियो ।
पछि ९ मंसिरदेखि धरहरा परिसर घुम्न र चढ्न शुल्क लाग्ने व्यवस्था गरियो । शुल्क लाग्ने व्यवस्था गरिएपछि पहिलेको अनलाइन प्रणाली बेवारिसे जस्तै बनेको थियो । अहिले सबै सिस्टममा भुक्तानीको माध्यम इन्टिग्रेट गरेपछि अनलाइनबाटै बुकिङ गर्ने व्यवस्था पुनः सञ्चालनमा आएको हो । आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार डिजिटल वालेट खल्ती र आईएमई पे वालेटले भुक्तानीको माध्यम इन्टिग्रेट गरेपछि यो सेवा सञ्चालनमा आएको छ ।

