Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

काठमाडौंका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्छु : एसएसपी बस्नेत

काठमाडौंका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्छु : एसएसपी बस्नेत

आर्थिक पत्र
आइतवार, माघ २० २०८१
  • काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्ने बताएका छन्।

    images

    शुक्रबार पदभार ग्रहण गरेका बस्नेतले उपत्यकाका तीन जिल्लामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रणमा आफू नेतृत्वको कार्यालयले आक्रामक कारबाही थालिसकेको बताए। 

    यसक्रममा प्रहरीले शनिबार राति ललितपुरबाट २४ जना अनलाइन जुवा खेलाउने समूहलाई पक्राउ गरेको छ। उनीहरूले एक अर्ब बढीको अनलाइन जुवा खेलाएको प्रहरीको प्रारम्भिक अनुमान छ।

    बस्नेतले संगठनको लक्ष्य, नीति र कार्यसम्पादन सम्झौताअनुसार आफूले कार्य गर्ने बताए।

    ‘जघन्य किसिमका अपराध मात्रै नभएर काठमाडौंमा ठगी, लुटपाट, आर्थिक अपराधसमेत हुने गरेको छ,’ बस्नेतले भने, ‘कुनै पनि किसिमका अपराध नियन्त्रणमा हामी विमुख बन्दैनौं।’

    राजधानीमा आर्थिक अपराध अत्यधिक हुने गरेको छ। क्रिप्टो करेन्सीको कारोबार, हुन्डी, अनलाइन जुवालगायतका आर्थिक अपराध हुने गरेका छन्।

    यसबाहेक काठमाडौंमा हुने गरेको गुन्डागर्दी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए। ‘गुन्डागर्दीको पहिलेको स्थिति र अहिलेको अवस्था मूल्यांकन गरेर कार्यनीति बनाउँछु,’ बस्नेतले भने, ‘काठमाडौंमा गुन्डागर्दी गर्नेहरूमाथि प्रहरी नजर सदैव छ, त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैनौं।’

    यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत कार्य गरेकाले आफूलाई राजधानीमा हुने गरेका आपराधिक गतिविधिबारे जानकारी रहेको बताए।

    बस्नेतले यसअघि जनकपुर, पर्साजस्ता चुनौतीपूर्ण जिल्लाको कमाण्ड सम्हालिसकेका थिए।

    ‘अहिले सूचना संकलनमा छौं, केही विशेष अपरेसन चलाउने अवस्था देखिएको छ,’ बस्नेतले भने, ‘प्रहरीलाई निर्धक्क साथ सूचना दिन अनुरोध गर्दछु।’

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार