Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भीषण असिनाका कारण रौतहटका किसानलाई ठूलो क्षति

भीषण असिनाका कारण रौतहटका किसानलाई ठूलो क्षति

आर्थिक पत्र
शनिवार, चैत्र ९ २०८१
  • रौतहट । शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीका कारण रौतहट जिल्लाका किसानहरु ठूलो मारमा परेका छन् ।

    विशेष गरी जिल्लाको उत्तरी क्षेत्रका कृषकहरुले लगाएको मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट भएको छ ।

    चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा खेती गर्दै आएका किसानहरुको बालीनाली पूर्ण रुपमा सखाप भएपछि उनीहरु गहिरो चिन्तामा परेका छन् । स्थानीय किसानहरुका अनुसार उनीहरुले मेहनतका साथ लगाएको अन्नबाली असिना पानीले पूर्ण रुपमा नष्ट गरिदिएको छ ।

    वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसावारी तथा मकैबाली पूर्ण रुपमा क्षति पुगेको बताएका छन् । राउतका अनुसार उनले खेतमा लगाएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ । 

    वृन्दावन–१ बलेरीका किसान प्रेमलाल पटेल, रविन्द्र पटेल र हेमन राउतले समेत ठूलो नोक्सानी व्यहोरेका छन् । प्रेमलाल पटेलले १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबाली पूर्ण रुपमा गुमाएका छन् । बलेरी क्षेत्रका मात्रै करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले जानकारी गराएका छन् । 

    कृषकहरुले आफ्नो मेहनतले लगाएको बालीनाली एकै रातमा नष्ट भएपछि ठूलो आर्थिक मारमा परेका छन् । यस संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै स्थानीय तथा प्रदेश सरकारलाई राहत उपलब्ध गराउन किसानहरुले माग गरेका छन् । वृन्दावन जल उपभोक्ता समितिका सचिव पटेलले भने, “किसानले ठूलो आशा राखेर बाली लगाएका थिए, तर असिना पानीले सबै नष्ट गरिदियो । स्थानीय सरकारले पीडित किसानहरुको विवरण संकलन गरी संघ तथा प्रदेश सरकारसमक्ष राहतका लागि पहल गर्नुपर्छ ।' 

    कृषि प्रधान देश नेपालमा किसानहरु प्राकृतिक प्रकोपको मारमा परिरहँदा राहत तथा क्षतिपूर्ति कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारहरुले प्रभावित कृषकहरुको उचित क्षतिपूर्ति दिलाउन पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार