विराटनगर । कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७.६४ प्रतिशत हो ।वैशाख मसान्तसम्म प्रदेशले चार अर्ब २४ करोड ३३ लाख ५० हजार ८७ रुपियाँ राजस्व आम्दानी गरेको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमा कोशी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनमा सुधार गर्ने भन्दै चार अर्ब ९८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य प्राप्त गर्न अब दुई महिनामा ७४ करोड रुपियाँ आन्तरिक आम्दानी गर्नुपर्ने हुन्छ । वैशाख मसान्तसम्म लक्ष्यको ८५ प्रतिशत राजस्व आम्दानी गरिसकेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष राजस्व आम्दानीमा प्रदेशले सुधार गरेको र आर्थिक वर्षको अन्तिमसम्म पुग्दा लक्ष्य नभेट्टाए पनि ९० प्रतिशतभन्दा माथि पुग्ने विश्वास व्यक्त गर्नुभयो ।सवारी साधन करबाट उल्लेख्य आम्दानी भएपछि कोशी प्रदेश सरकारले चालु वर्षमा राजस्व सङ्कलन गर्न लिएको लक्ष्य पूरा हुनसक्ने सम्भावना देखिएको हो । सवारी साधन कर सङ्कलन गर्ने अधिकार संघीय सरकारबाट गत साउनमा प्रदेशलाई दिइएपछि राजस्व आम्दानीमा सुधार देखिएको हो ।
सवारीसम्बन्धी अन्य आम्दानी र चालक अनुमति पत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट सरकारले ५५ करोड ७५ लाख ९० हजार २१ रुपियाँ आम्दानी गरेको छ । यो कुल आन्तरिक राजस्व आयको ६०.७ प्रतिशत हो । वैशाख महिनामा मात्र कोशी प्रदेश सरकारले १५ करोड ९१ लाख ७७ हजार ७७८ रुपियाँ आम्दानी गरेको जनाएको छ ।
प्रदेश सरकारले प्राकृतिक स्रोततर्फ खानी तथा ढुङ्गागिटीबाट भने उल्लेख्य राजस्व सङ्कलन गर्न सकेको छैन । वन क्षेत्रको रोयल्टीबाट १९ करोड ७२ लाख ३४ हजार ९७९ रुपियाँ राजस्व आम्दानी गरेको सरकारले घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट ८८ करोड ४८ लाख ८७ हजार २२० रुपियाँ आम्दानी गरेको जानकारी दिइएको छ ।कोशी प्रदेश सरकारले वैशाख मसान्तसम्म २५ अर्ब ५५ करोड ६८ लाख चार हजार ८७५ रुपियाँ आय गरेको छ । यसमध्ये समानीकरण अनुदानबाट ६ अर्ब ३५ करोड ६८ लाख २६ हजार ५६० रुपियाँ, सशर्त पुँजीगत अनुदानबाट एक अर्ब ६८ करोड ४२ लाख १६ हजार ४८९ रुपियाँ प्राप्त गरेको छ ।
वैशाख मसान्तसम्म कोशी प्रदेश सरकारले चालुतर्फ नौ अर्ब ९० करोड ३१ लाख ६३ हजार ३३५ रुपियाँ र पुँजीगततर्फ ६ अर्ब ८१ करोड ८६ लाख ७६ हजार २३८ रुपियाँ गरी १६ अबए ७२ करोड १८ लाख ३९ हजार ५७३ हजार रुपियाँ आम्दानी गरेको छ । यस अवधिको कोशी सरकारले ४७ प्रतिशत बजेट खर्च गरेको छ ।


