तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । नवलपुरमा २७ हजार ६२४ र तनहुँमा तीन हजार २०० घरधुरीमा धारा जडान गरेको हो ।
गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । घर घरमा पानीका धारा जडान भएपछि नागरिकलाई खानेपानीका लागि सहज भएको प्रमुख एवं सिनियर डिभिजन इञ्जिनियर शम्भुराज खनालले जानकारी दिए ।
उनले भने, ‘चालु आर्थिक वर्षमा मात्रै दुई जिल्लामा गरी चार हजार ५०० घरधुरीमा ‘एक घर, एक धारा’ अन्तर्गत खानेपानी सेवा पुर्याइएको छ ।’
गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान सुरु हुनुअगावै नवलपुर जिल्लामा कार्यक्रम अघि बढाएका कारण तनहुँको तुलनामा धेरै घरधुरीमा पानी वितरण भएको हो ।

