Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

आर्थिक पत्र
सोमवार, आषाढ ९ २०८२
  • भोजपुर– दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो ।

    आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएपछि उत्साह बढेको स्थानीयवासी सूर्य राईले बताए । पक्की भवन बनेपछि सहज रूपमा सेवा पाउनेमा आशावादी रहेको उनको भनाइ छ ।

    स्वास्थ्यचौकी नहुँदा विगतमा सामन्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

    रामप्रसादराई गाउँपालिका– ८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । देशमा सङ्घीयता आएपछि यहाँ स्वास्थ्यचौकी स्थापना गरिएको छ । तर स्वास्थ्यचौकीको भवन नहुँदा सेवा प्रवाहमा समस्या रहँदै आएको थियो । वडाको पहलमा यहाँ प्रदेश सरकारबाट प्राप्त २५ लाख बजेटमा चारकोठे पक्की भवन निर्माण भइरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए ।

    भवन निर्माणको काम अन्तिम चरणमा छ । विगतमा यहाँ स्वास्थ्यचौकी नहुँदा धेरै समस्या भएकाले आफूले वडाको जिम्मेवारी लिएपछि स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

    दक्षिणी क्षेत्रमा पर्ने यो ठाउँ भोजपुर सदरमुकामबाट ५० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक रहेकाले यहाँका नागरिकलाई सदरमुकामसम्म स्वास्थ्य सेवा लिन आउन निकै समस्या छ । यहाँ नै स्वास्थ्यचौकीको आफ्नै भवन निर्माणपछि सेवा लिन सहजता हुने स्थानीयको भनाइ छ । (रासस)

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार