Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रजिअको समाजसेवा : दार्चुलामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन

प्रजिअको समाजसेवा : दार्चुलामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन

आर्थिक पत्र
मंगलवार, आषाढ १० २०८२
  • दार्चुला। प्रमुख जिल्ला अधिकारीको प्रमुख दायित्व शान्ति सुरक्षाका लागि आवश्यक काम र समन्वय गर्नु नै हो । तर यहाँका प्रजिअ अनिल पौडेलले समाजसेवाका लागि उदाहरणीय पहलको थालनी गरेका छन्।

    उनले जिल्लामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम सङ्कलन गर्ने अभियान सुरुआत गरेका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा विशेष गरेर सुत्केरी तथा आकस्मिक सेवाका विरामी समस्यामा पर्दै आएका छन् ।

    यसैबीच प्रमुख जिल्ला अधिकारी पौडेलले ‘ब्लड बैंक’ स्थापनार्थ सुरक्षाकर्मी र कर्मचारीबाट सङ्कलन गरिएको रु पाँच लाख दुई हजार ८८१ नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महरलाई हस्तान्तरण गरे ।

    जिल्ला अस्पतालमा आउने अधिकांश बिरामीलाई रगत आवश्यक हुँदा रक्तदान गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न ब्लड बैंक स्थापना गर्न रकम सङ्कलन गरिएको प्रजिअ पौडेलले जानकारी दिए । उनले भने, “राष्ट्रसेवक कर्मचारीले गर्न सक्ने जति सहयोग स्वःस्फुर्त गरिएको छ । यो अभियानलाई निरन्तरता दिँदै ब्लड बैंक सञ्चालन भएको हेर्न चाहन्छौँ ।”

    जिल्ला समन्वय समिति प्रमुख महदेव बडू ९कस्यप०ले यो अभियानमा सबै स्थानीय तह र तीन सय बढी जनप्रतिनिधिलाई आफूले सहयोगका लागि आह्वान गर्ने बताए । उनले भने, “अहिलेसम्मकै यो पुण्य काम हो । छिट्टै जिल्लासभा हुँदैछ, प्रस्तावकै रूपमा लगेर यो अभियानलाई आफूले सक्ने सहयोग गर्न तयार छौं ।”

    महाकाली नगरप्रमुख नरसिंह चैसिरले जिल्लाका लागि नभई नहुने ब्लड बैंक स्थापना गरेर सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए। “यो मेरो प्रतिबद्धता भयो, जहाँबाट भए पनि ब्लड बैंक स्थापनार्थ बजेट खोज्छौँ । जिल्ला अस्पतालका लागि यो नभई नहुने थियो, प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले एउटा राम्रो काम अघि बढाएकामा धन्यवाद दिँदै यो काम पूरा गराउने काम हामी गर्छौँ”, उनले भने।

    जिल्ला अस्पतालका डा सञ्जीव श्रेष्ठ तत्काल रगतको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न जिल्लामा ब्लड बैंक जरुरी भएको बताए। स्थापना गर्न बजेटको हिसाबले खर्चिलो भए पनि पहाडी जिल्लाका लागि आवश्यक रहेको छ भने । अहिले अस्पतालमा सर्वसाधारण, सुरक्षाकर्मी खोजेर रक्तदानका लागि आग्रह गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

    यसअघि २०७२ सालमा नेपाल रेडक्रस दार्चुलाको अगुवाइमा ब्लड बैंक स्थापनार्थ सहयोग रकम उठाइएको थियो । त्यसले थोरै भए पनि ब्लड बैंकमा चाहिने सामग्री व्यवस्थापनमा सहयोग पुगेको नेपाल रेडक्रस दार्चुलाका महामन्त्री दीपक अवस्थी बताउँछन्। “राम्रो ब्लड बैंक स्थापना गर्न बजेट सुनिश्चितता कहीँबाट भएको छैन । स्रोत भयो भने राम्रै बनाउनुपर्छ”, उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार