काठमाडौं। एनसेलले पछिल्लो एक महिनायता सञ्चालनमा ल्याएको ‘सधैँ अन करोडपति’ योजना बन्द भएको घोषणा गरेको छ ।भनिन्छ, नियामक निकायको हस्तक्षेपपछि यो योजना बन्द भएको हो । आफ्ना उत्पादन तथा योजना प्रवद्र्धन गर्न विभिन्न कम्पनीले ग्राहक योजना ल्याउने अभ्यास रहेकोमा नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको योजनामा अचानक हस्तक्षेप गरेको बताइन्छ ।
एनसेलले प्राधिकरणलाई जानकारी दिएर नै आफ्ना ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले योजना प्रारम्भ गरिएको बताएको छ । साउन १ देखि योजना बन्द गरिए पनि विजेता घोषणा भइसकेका ग्राहकलाई पुरस्कार प्रदान गर्ने प्रक्रियालाई भने निरन्तरता दिइने एनसेलले उल्लेख गरेको छ ।
नियामक प्राधिकरणले भने एनसेलको ग्राहक योजनालाई चिट्ठा कार्यक्रमको संज्ञा दिएको छ । चिट्ठा ऐन २०२५ अनुसार यस्तो योजना बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताएका छन् ।एनसेलले करोडपति योजनाबारे जानकारी दिएको र त्यस बखत नै रोक्नु पर्नेमा ढिलाइ भएको प्राधिकरणका अधिकारीको भनाई छ । चिट्ठा खोलिसकेको विषयमा के गर्ने भन्ने विषयमा पनि प्राधिकरणले अध्ययन गरिरहेको तथा अबको केही दिनपछि निर्णय गरिने बताइएको छ ।
एनसेलले ‘सधैं अन करोडपति योजना’ चार साता पूर्ण रुपमा सञ्चालन गरिसकेको छ । पाँचौँ साताको कार्यक्रम चलिरहेका बेला प्राधिकरणले यसलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो ।पाँचौं साताको आइतवारदेखि बुधवारसम्म टिकट जित्नेलाई बिहीवार प्रत्यक्ष प्रसारण गरी विजेता घोषणा गरिएको थियो । बम्पर पुरस्कार स्वरुप १ करोड रुपैयाँका विजेतासमेत घोषणा भइसकेको छ ।

