काठमाडौँ । भोलि साउन १५ अर्थात् खीर खाने दिन । खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान भएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार भोलि बिहीबार देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । नेपाल डेरी एसोसिएसनले प्रत्येक श्रावण १५ को अवसरमा खीर खाने कार्यक्रम आयोजना गर्दै आइरहेकोमा यस वर्ष पनि श्रावण १५ गतेको अवसरमा ‘नेपाली खीर प्रवर्द्धन कार्यक्रम–२०८२’ आयोजना गरिसकेको छ । पोषणविद्हरूका अनुसार मानव स्वास्थ्य र खीरको सम्बन्ध पनि अत्यन्तै महत्त्वपूर्ण छ । खीर केवल स्वादका लागि मात्र होइन, स्वास्थ्य लाभका लागि पनि उल्लेखनीय छ । पोषणको खानी दूध र चामलमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन बी–कम्प्लेक्स पाइन्छ । हड्डी र दाँत मजबुत बनाउन क्याल्सियम र भिटामिन डीको कारण शरीरलाई बलियो बनाउँछ । सहज पाचन हुने हुँदा खीर सजिलै पच्ने र पेटलाई आराम दिने परिकार हो ।

