काठमाडौं–घरजग्गा कारोबारमा मन्दीको अवस्था कायम रहे पनि सरकारले प्राप्त गरेको राजस्व भने अघिल्लो वर्षको तुलनामा झण्डै ९ अर्ब रुपैयाँले वृद्धि भएको छ। कारोबार संख्यामा ४० हजारको गिरावट आउँदा समेत उच्च मूल्यका सम्पत्तिको कारोबारले गर्दा राजस्व संकलन बढेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८०।८१ मा १६ लाख २० हजार ८९५ वटा घरजग्गा कारोबार भएका थिए। तर, २०८१।८२ मा यो संख्या घटेर १५ लाख ८० हजार ८९८ मा झरेको छ। यद्यपि, त्यही अवधिमा सरकारलाई ४० अर्ब रुपैयाँको तुलनामा ४९ अर्ब रुपैयाँ राजस्व प्राप्त भएको छ।
मूल्य स्थिर, तर कर संकलन बढ्दो
हाल राजधानीको बुद्धनगर क्षेत्रमा आनाको मूल्य ७० लाख भनिए पनि ५० लाखमा समेत बिक्रीका लागि तयार हुने अवस्था आएको छ, जुन करिब चार वर्ष अघिको मूल्य स्तर हो। मूल्य स्थिर हुँदा पनि उच्च मूल्यका सम्पत्तिहरू–जसमा अपार्टमेन्ट र महंगा जग्गा समेत पर्छन्–को कारोबारले राजस्व वृद्धिमा योगदान दिएको विभागको भनाइ छ।
पुँजीगत लाभकरमा उल्लेखनीय वृद्धि
घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर अघिल्लो वर्षको १४ अर्ब ३५ करोड रुपैयाँबाट बढेर १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। हाल ५ वर्षभन्दा कम अवधिको स्वामित्वमा ७ प्रतिशत र ५ वर्षभन्दा बढीको स्वामित्वमा ५ प्रतिशत लाभकर लाग्ने प्रावधान छ।
बैंकिङ क्षेत्रमा समस्या गहिरिँदै
घरजग्गा बजारमा आएको मन्दीले बैंक तथा वित्तीय संस्थाहरूलाई ठूलो दबाबमा पारेको छ। कारोबार सुस्त हुँदा ऋणीहरूले राखेको धितो लिलामीमा बिक्री हुन नसकेपछि बैंकहरूले आफैं सम्पत्ति सकारी रहेका छन्। हालसम्म बैंक तथा वित्तीय संस्थासँग रहेको गैरबैंकिङ सम्पत्ति ४५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीका अनुसार, बैंकहरूले लिलामीमा राखिएका सम्पत्तिहरूमा पर्याप्त खरिदकर्ता नपाएको र यसले रेगुलेटरी रिजर्भ कायम गर्न कठिनाइ भएको उल्लेख गरे।
मालपोत कार्यालयहरूबाट राजस्व
असार महिना मात्रै सरकारलाई घरजग्गा कारोबारबाट ६ अर्ब ५५ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। रजिस्ट्रेसन दस्तुरबाट ३ अर्ब ४९ करोड र पुँजीगत लाभकरबाट २ अर्ब ५६ करोड संकलन भएको हो।
सबैभन्दा बढी राजस्व संकलन गर्ने मालपोत कार्यालयहरूमा ललितपुरको लगनखेल अग्र स्थानमा रहँदा, त्यसपछि भक्तपुर, काठमाडौं डिल्लीबजार, र कलंकी मालपोत कार्यालयहरू रहेका छन्। कारोबार संख्या हेर्दा भने इनरुवा, जनकपुरधाम, भद्रपुर, बेलबारी र भक्तपुर अग्रस्थानमा छन्।

