काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई थप प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य सहित नयाँ कार्यविधि लागू गरेको छ। हालै स्वीकृत ‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ अनुसार अब लाभग्राहीहरूले अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।
नयाँ कार्यविधिसँगै २०७७ को पुरानो कार्यविधि खारेज गरिएको छ। अबदेखि आवेदनका लागि राष्ट्रिय परिचयपत्रमा आधारित विवरण अनिवार्य गरिनेछ, भने बायोमेट्रिक प्रमाणीकरण प्रणाली समेत लागू गरिएको छ। यसले नक्कली लाभग्राही वा दोहोरो भत्ता लिने प्रवृत्तिलाई नियन्त्रण गर्ने सरकारको अपेक्षा छ।
बायोमेट्रिक प्रणाली लागू भएका स्थानीय तहका नागरिकहरूले आफ्नो बसोबास क्षेत्रमै अनलाइन आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनहरू सम्बन्धित वडा कार्यालय मार्फत प्रमाणीकरण गरिनेछ।
तर, १६ वर्षमुनिका बालबालिका, अशक्त नागरिक र ९० वर्ष माथिका वृद्धहरूका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य नहुन सक्ने व्यवस्था गरिएको छ। लाभग्राहीको विवरण प्रणालीमा प्रविष्ट भएपछि उनलाई १३ अंकको सामाजिक सुरक्षा परिचयपत्र नम्बर प्रदान गरिनेछ।
नयाँ कार्यविधि अनुसार चालु आर्थिक वर्षमै सबै लाभग्राहीहरूले अनिवार्य रूपमा निवेदन दिनुपर्नेछ। बायोमेट्रिक प्रमाणीकरण भएका जिल्लामा मोबाइल एपमार्फत नवीकरण गर्न सकिने सुविधा पनि दिइएको छ।

