काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि लिएको ऋणमध्ये असोज मसान्तसम्म ८ अर्ब ४५ करोड २४ लाख रुपैयाँ किस्ता भुक्तानी गरेको छ।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये दुई न्यारोबडी विमानको किस्ता पूर्ण र दुई वाइडबडीको आंशिक रकम भुक्तानी गरिएको हो। भुक्तानी रकम ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ रहेको छ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो।
प्रवक्ता डाँगीका अनुसार कोभिड–१९ महामारीको असरका कारण उत्पन्न वित्तीय दबाबको सामना गर्न निगमले ब्याजको ब्याज, हर्जाना तथा पेनल्टी छुट गर्न र किस्ता अवधि लम्ब्याउन कोषहरूलाई औपचारिक अनुरोध पठाएको छ। सो विषयमा सकारात्मक छलफल भइरहेको उनले जानकारी दिए।
वर्तमान नेतृत्वले सम्हालेयता ऋण दायित्व भुक्तानी नियमित गर्दै आर्थिक पुनर्संरचनातर्फ ध्यान केन्द्रित गरिएको निगमको भनाइ छ।

