Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

माघे संक्रान्ति नजिकिएसँगै तरुलको बिक्री बढ्दै

माघे संक्रान्ति नजिकिएसँगै तरुलको बिक्री बढ्दै

आर्थिक पत्र
मंगलवार, पौष २९ २०८२
  • काठमाडौँ । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका विभिन्न बजारमा तरुल तथा अन्य कन्दमूलको बिक्री वितरणमा तीव्रता आएको छ। माघ १ गते मनाइने यो पर्वमा विशेष परिकारका रूपमा तरुल, सखरखण्ड र पिँडालु खाने परम्परा रहेकाले बजारमा यी वस्तुको माग ह्वात्तै बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका अनुसार पर्वलाई लक्षित गरी सर्लाही, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकलगायतका जिल्लाबाट ठुलो परिमाणमा तरुल भित्रिने क्रम बढेको छ।

    अहिले बजारमा वन तरुल, घर तरुल, सिमल तरुल, हात्तीपाइले तरुल र पातले तरुललगायतका विभिन्न प्रजाति उपलब्ध छन्। व्यवसायीहरूका अनुसार पछिल्लो समय युवाहरू विदेश पलायन हुनु र घरघरमा मधुमेहका बिरामी बढ्नुले समग्र मागमा केही कमी आए पनि पर्वको पूर्वसन्ध्यामा व्यापार भने उल्लेख्य भइरहेको छ। उपभोक्ताहरू आफ्नो रुचि र स्वाद अनुसारका तरुल छान्न बजारमा व्यस्त देखिन्छन्। माघे सङ्क्रान्तिमा घ्यू, चाकु र तिलको लड्डुसँगै तरुल उसिनेर वा पोलेर खाने चलन छ।

    यो पर्वमा खाइने कन्दमूलले जाडो समयमा शरीरलाई न्यानो प्रदान गर्ने र स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास रहेको छ। यस्तै, माघे संक्रान्तिकै अवसर पारेर झापाको बाहुनडाँगीमा अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना गर्ने तयारी समेत भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार