Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ह्वाट्सएपको इन्क्रिप्सनमाथि गम्भीर प्रश्न, गोपनीयता भङ्ग गरेको आरोपमा मेटाविरुद्ध मुद्दा

ह्वाट्सएपको इन्क्रिप्सनमाथि गम्भीर प्रश्न, गोपनीयता भङ्ग गरेको आरोपमा मेटाविरुद्ध मुद्दा

आर्थिक पत्र
सोमवार, माघ १२ २०८२
  • काठमाडौँ । ह्वाट्सएपको मातृ कम्पनी मेटा प्लेटफर्म इन्क विरुद्ध यसको गोपनीयता र सुरक्षासम्बन्धी दाबीहरू झुटो भएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय स्तरको मुद्दा दर्ता गरिएको छ । ह्वाट्सएपले प्रयोगकर्तालाई दिने ‘इन्ड-टु-इन्ड’ इन्क्रिप्सनको सुनिश्चितता वास्तवमा भ्रामक रहेको दाबी वादी पक्षले गरेका हुन् ।सान फ्रान्सिस्कोस्थित अमेरिकी जिल्ला अदालतमा दर्ता गरिएको उजुरीमा ह्वाट्सएपले दाबी गरे जस्तो मेसेजहरू केवल पठाउने र पाउने व्यक्तिमा मात्र सीमित नरहेको उल्लेख छ । वादीहरूले आरोप लगाएका छन् कि मेटा र ह्वाट्सएपले प्रयोगकर्ताका निजी भनिएका मेसेजहरूलाई स्टोर र विश्लेषण गर्ने मात्र नभई ती सामग्रीहरूमा पहुँच समेत राख्न सक्छन् ।

    अर्बौँ प्रयोगकर्ताहरूलाई गोपनीयताको झुटो आश्वासन दिएर कम्पनी र यसका नेतृत्वले ठगी गरिरहेको अभियोग पत्रमा दाबी गरिएको छ । यस मुद्दामा अस्ट्रेलिया, ब्राजिल, भारत, मेक्सिको र दक्षिण अफ्रिकाका वादीहरू सङ्गठित भएका छन् । उनीहरूले केही व्हिसलब्लोअर (भित्रि सूचना दिने व्यक्ति) को सहयोगमा यो जानकारी सार्वजनिक भएको बताएका छन् ।ती सूचनादाताहरूका अनुसार मेटाका कर्मचारीहरूले प्रयोगकर्ताका सञ्चार सामग्रीहरू हेर्न सक्ने क्षमता राख्छन् । यद्यपि उजुरीमा ती सूचनादाताको पहिचान खुलाइएको छैन ।मेटाले यी सबै दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै मुद्दालाई आधारहीन र काल्पनिक कथाको संज्ञा दिएको छ । कम्पनीका प्रवक्ता एन्डि स्टोनले ह्वाट्सएपले विगत एक दशकदेखि सिग्नल प्रोटोकल प्रयोग गरेर मेसेजहरूलाई पूर्ण रूपमा इन्क्रिप्टेड राख्दै आएको र मेसेजहरू अरूले पढ्न सक्ने दाबी पूर्णतः झुटो रहेको बताएका छन् । मेटाले यो मुद्दा व्यर्थको भएको भन्दै वादी पक्षका वकिलहरू विरुद्ध नै कानुनी कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ ।

    वादी पक्षका वकिलहरूले यस मुद्दालाई क्लास-एक्सन (सामूहिक मुद्दा) को रूपमा प्रमाणित गर्न अदालतसँग माग गरेका छन् । यस मुद्दामा क्विन इमानुएल उर्क्हार्ट एण्ड सुलिभान र केलर पोस्टम्यान जस्ता विश्वका प्रतिष्ठित कानुन फर्महरू संलग्न रहेका छन् । "यो च्याटमा रहेका व्यक्तिहरूले मात्र मेसेज पढ्न वा सुन्न सक्छन्," भन्दै ह्वाट्सएपले सधैँ विज्ञापन गरिरहेका बेला दर्ता भएको यो मुद्दाले प्रविधि जगतमा ठुलो तरङ्ग पैदा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार