काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै भारतको गुडगांवस्थित मेडान्त द मेडिसिटी अस्पतालसँग सहकार्य गरी स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी सचेतनामूलक वेबिनार आयोजना गरेको छ।
क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्ने, विद्यमान भ्रम हटाउने र समयमै परीक्षण तथा उपचारको महत्वबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकका महिला कर्मचारीहरूका लागि “स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू” विषयक वेबिनार माघ १३ गते आयोजना गरिएको थियो, जसमा मेडान्त अस्पतालकी वरिष्ठ निर्देशक डा. कञ्चन कौरले सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा ५१३ जना महिला कर्मचारीहरूको सहभागिता रहेको थियो। त्यसैगरी माघ १४ गते ३० वर्षभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि “प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ” विषयक सत्र सञ्चालन गरिएको थियो, जसको सहजीकरण वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले गरेका थिए । यस सत्रमा ५०९ जना कर्मचारीहरू सहभागी भएका थिए।
बैंकका अनुसार यस्ता कार्यक्रमहरूले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, बैंकका कार्डवाहक ग्राहकहरूलाई मेडान्त मेडिसिटी अस्पतालमा उपचार सेवामा १५ प्रतिशतसम्म छुटको सुविधा पनि उपलब्ध गराइएको छ।
सिटिजन्स बैंकले आगामी दिनमा पनि कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूका लागि यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

