काठमाडौं । माई मार्टले आफ्नो सेवा विस्तार गर्दै उपभोक्तामैत्री अनलाइन किनमेल सेवा सुरु गरेको छ। नयाँ मोबाइल एप “माई मार्ट – डेलिभर्ड इन मिनेट्स” मार्फत अब उपभोक्ताले दैनिक उपभोग्य सामग्री अर्डर गरेको दिनमै प्राप्त गर्न सक्नेछन्।डिजिटल प्रविधिको तीव्र विकास र उपभोक्ताको बदलिँदो किनमेल व्यवहारलाई मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर (D2C) मोडेल सञ्चालनमा ल्याएको हो। यसअघि व्यवसाय–देखि–व्यवसाय (B2B) मोडेलमार्फत सेवा दिँदै आएको माई मार्टले अब प्रत्यक्ष उपभोक्तासम्म सेवा विस्तार गरेको जनाएको छ।
कम्पनीका अनुसार बजारको माग, आन्तरिक तयारी तथा आपूर्ति प्रणालीको सफल परीक्षणपछि मात्र यो सेवा औपचारिक रूपमा सुरु गरिएको हो। मोबाइल एप, अर्डर म्यानेजमेन्ट, स्टक कन्ट्रोल र डेलिभरी प्रणाली पूर्ण रूपमा तयारी अवस्थामा पुगेपछि सेवा सञ्चालनमा ल्याइएको माई मार्टले जनाएको छ।हाल यो सेवा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध रहेको छ। आगामी दिनमा अन्य प्रमुख शहरहरूमा पनि सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।माई मार्टले नेपाली उद्यमशीलता र स्वरोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै स्थानीय उत्पादनलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ। स्वदेशी उत्पादकसँग सहकार्य गर्दै स्थानीय उत्पादनलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने रणनीतिअनुसार काम अघि बढाइएको कम्पनीको भनाइ छ।नयाँ मोडेलमार्फत स्वरोजगारी तथा रोजगारी सिर्जना, स्थानीय व्यवसायको डिजिटल रूपान्तरण र उपभोक्तालाई छिटो, सहज तथा भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यसहित माई मार्ट अगाडि बढिरहेको छ। माई मार्टको मोबाइल एप हाल गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ।
माई मार्टबारे
माईमार्ट इन्डस्ट्रिज प्रा. लि. आई.एम.ई. ग्रुपअन्तर्गतको संस्था हो। माई मार्टले २०७३ सालदेखि काठमाडौं उपत्यकामा दैनिक उपभोग्य सामग्रीको थोक कारोबार गर्दै आएको छ। हालसम्म माई मार्टले ३ हजारभन्दा बढी किराना तथा ग्रोसरी पसलहरूसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ।

