Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सूर्यज्योति लाइफको २५% लगानीमा धनगढीमा पाँचतारे होटल बन्ने

सूर्यज्योति लाइफको २५% लगानीमा धनगढीमा पाँचतारे होटल बन्ने

आर्थिक पत्र
आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमै पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल निर्माणका लागि धनगढीस्थित क्लब चौलानी लिमिटेडमा २५ प्रतिशत शेयर लगानी गर्ने सम्झौता गरेको छ। उक्त होटल अन्तर्राष्ट्रिय होटल समूह आईएचजी होटेल्स एन्ड रिसोट्र्स अन्तर्गतको ‘होलिडे इन धनगढी’ ब्रान्डमा सञ्चालन हुनेछ।

    सम्झौतापछि क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसीले धनगढीमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउन पाउनु महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। उनले धनगढीलाई पश्चिम नेपालको व्यावसायिक तथा पर्यटन प्रवेशद्वारका रूपमा उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवाको ठूलो सम्भावना रहेको बताएका छन्। आईएचजीको अनुभव र गुणस्तर मापदण्डअनुसार अतिथिलाई विश्वस्तरीय सेवा दिने लक्ष्य रहेको उनको भनाइ छ।

    होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ वटा प्रिमियम सुइटसहित ११५ आधुनिक अतिथि कक्ष रहनेछन्। करिब १८ हजार ५०० वर्गफुट क्षेत्रफलमा अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्याङ्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेस्टुरेन्ट, पूर्ण सुसज्जित फिटनेस सेन्टर, बैठक तथा सम्मेलन कक्ष र विशेष निजी भोजन सुविधा उपलब्ध गराइने जानकारी दिइएको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीका अनुसार पर्यटन क्षेत्रको दीर्घकालीन सम्भावनालाई ध्यानमा राख्दै स्थिर प्रतिफल र क्षेत्रीय पूर्वाधार विकासमा योगदान गर्ने उद्देश्यले लगानी गरिएको हो। यस साझेदारीले कम्पनीको लगानी आधार बलियो बनाउनुका साथै पश्चिम नेपालमा गुणस्तरीय पर्यटन पूर्वाधार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    सूर्यज्योति लाइफ नेपालकै पहिलो आईएसओ ९००१–२०१५ प्रमाणित जीवन बीमा कम्पनी हो। कम्पनीको हाल चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। जीवन बीमा कोष ४६ अर्ब १७ करोड रुपैयाँ, कुल लगानी ५१ अर्ब २० करोड रुपैयाँ र नेटवर्थ ६ अर्ब १८ करोड रुपैयाँ रहेको जनाएको छ। देशभर १ लाख ७ हजारभन्दा बढी अभिकर्ता, ३६ लाख ३० हजार बीमालेख र १७६ शाखा सञ्जालमार्फत कम्पनीले सेवा दिइरहेको छ। साथै ३५ प्रकारका घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्म आर्थिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार