काठमाडौँ । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्ने संकेत देखिएको छ। रसियाली राष्ट्रपतिका विशेष प्रतिनिधि तथा रसियाली प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर नाघ्ने सम्भावना प्रबल रहेको बताएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दिमित्रिभले एसियाली बजारमा डेलिभरी हुने अधिकांश कच्चा तेलको मूल्य ९० डलर नाघिसकेको जानकारी दिएका छन्। उनका अनुसार ‘मुरबान क्रुड’ को मूल्य समेत हाल ९६ डलर प्रति ब्यारेल पुगेको छ।
दिमित्रिभले अन्तर्राष्ट्रिय पत्रिका ‘द इकोनोमिस्ट’ लगायतका सञ्चार माध्यमहरूले पनि अब कच्चा तेलको मूल्य १०० डलर पुग्ने सम्भावनालाई स्वीकार गर्न थालेको उल्लेख गरेका छन्।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरान माथि सुरु गरेको व्यापक सैन्य आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव तीव्र रूपमा बढेको छ। तेहरान लगायत इरानका प्रमुख सहरहरूमा गरिएको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित उच्च तहका नेताहरूको मृत्यु भएको बताइएको छ।
यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्डले बहराइन, जोर्डन, कतार, कुवेत, युएई र साउदी अरबमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रहार गरेपछि सम्पूर्ण मध्यपूर्व क्षेत्र युद्धको चपेटामा परेको छ।
विशेषज्ञहरूका अनुसार यस द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने भएकाले तेलको मूल्यमा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ।

