Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

आर्थिक पत्र
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन्।

    ललितपुर उद्योग वाणिज्य महासङ्घको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासङ्घभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नु सके संस्थागत एकताको आधार हुने बताए। उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासङ्घ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे।

    अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पनि बढाउनु पर्नेमा जोड दिए।

    “यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठुलो सम्भावना रहेको छ। तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसँगै परिमाण पनि बढाउन आवश्यक छ,” उनले भने।

    उनले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। साथै, स्थानीय तह, निजी क्षेत्र र सरकारबिच समन्वय गरी उत्पादनदेखि बजारसम्मको शृङ्खलालाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे।

    साथै उनले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासका लागि ललितपुर उद्योग सङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसनीय रहको बताए।

    अध्यक्ष ढकालले देशमा औद्योगिक वातावरण निर्माणका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट कम गर्नु आवश्यक रहेको बताए।

    उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि निजी क्षेत्रको एउटै आवाज हुनु पर्ने धारणा राखे।

    अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासङ्घको विधान संशोधन गरिएको जानकारी दिँदै उनले यसले सङ्गठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गरे। संशोधित विधानले जिल्ला नगर तथा महिला उद्यमीहरूको प्रतिनिधित्व बढ्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार