Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

खैरहनीद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • चितवन । खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत खाद्यान्न बाली प्रवर्द्धनका लागि किसानलाई धानको बीउमा अनुदान दिन लागेको हो ।नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठले अनुदान प्राप्त गर्न इच्छुक किसान तथा कृषि उद्यमीलाई आगामी वैशाख ७ गतेभित्र निवेदन दिन आह्वान गरिएको जानकारी दिए । उनका अनुसार मोटो र मसिनो गरी विभिन्न सात जातका धानको बीउमा अनुदान दिन लागिएको हो । सङ्घीय सरकारको बजेटमार्फत किसानलाई अनुदान दिन लागिएको हो । अनुदानमा उपलब्ध हुने धानका जातहरूमा सुक्खा धान–२, सावित्री, हर्दिनाथ–५, हर्दिनाथ–६, सावा मन्सुली सब–१, रामधान र चैते–५ रहेका छन् ।

    नगरपालिकाले प्रतिकठ्ठा दुई किलोका दरले एक जना किसानलाई अधिकतम १०० किलोसम्म बीउ उपलब्ध गराउने नीति लिएको छ । अनुदान लिन चाहने किसानले नागरिकताको प्रतिलिपि र चालु आव २०८२-८३ को एकीकृत सम्पत्ति कर तिरेको रसिदसहित स्वयं कृषि शाखामा उपस्थित भई निवेदन दिनुपर्नेछ । जग्गा भाडामा लिएर खेती गर्ने किसानका हकमा जग्गाबहाल सम्झौता, बहाल कर तिरेको रसिद र जग्गाधनीको नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको कृषि शाखाले जनाएको छ ।यसअघि नगरपालिकाले चैते धानको बीउमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । यस पालिकामा चैते धान दुई हजार ५१ हेक्टर क्षेत्रफलमा लगाइन्छ भने बर्खे धान तीन हजार ५५८ हेक्टर क्षेत्रफलमा लगाइन्छ । धानको बीउमा अनुदानका लागि रु १० लाख ७५ हजार बजेट रहेको उनले जानकारी दिए। पालिकाले कृषि चुन र मललगायत सामग्रीमा समेत किसानलाई अनुदान दिँदै आएको छ । कृषिमा आत्मनिर्भर बनाउन र उन्नत बीउको प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्न यस्ता कार्यक्रम ल्याइएको अधिकृत श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार