Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको भेटवार्ता

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको भेटवार्ता

आर्थिक पत्र
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटका क्रममा राजदूत झाङ माओमिङले नेपालमा नयाँ सरकार गठन भएकामा बधाई दिँदै दुई छिमेकी राष्ट्रबीच विद्यमान मित्रतालाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउन विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे। उनले नेपालमा राजनीतिक परिवर्तनपछि स्थायी र बलियो सरकार बनेकाले आर्थिक तथा सामाजिक विकासका लागि अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै त्यस किसिमको रूपान्तरणमा चीन सहकार्य गर्न इच्छुक रहेको बताए।

    राजदूत झाङले चीनले प्रविधिमा आधारित गुणस्तरीय उत्पादनमुखी नीति अवलम्बन गरिरहेको जानकारी दिँदै कृत्रिम बौद्धिकता तथा नवीनतम् सूचना प्रविधिका क्षेत्रमा प्राथमिकता दिइएको बताए। नेपालले पनि यस्ता उन्नत प्रविधिका क्षेत्रमा चीनसँग सहकार्य गर्न सक्ने सम्भावनाबारे उनले अवगत गराए। साथै, चिनियाँ लगानीमा नेपालमा सञ्चालन भइरहेका विभिन्न कम्पनीका लागि सहज र अनुकूल वातावरण बन्ने अपेक्षा उनले व्यक्त गरे।

    सो अवसरमा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले नेपालले चीनसँगको निरन्तर सहकार्य, पारस्परिक हित र विकास साझेदारीलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताए। उनले कनेक्टिभिटी पूर्वाधार निर्माण, डिजिटल पूर्वाधार विस्तार तथा सूचना प्रविधिमा आधारित क्षेत्रमा दुवै देशबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार