Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पुँजी बजारमा १५-१६ अर्बको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्ने समूह सक्रिय: अर्थमन्त्री डा. वाग्ले

पुँजी बजारमा १५-१६ अर्बको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्ने समूह सक्रिय: अर्थमन्त्री डा. वाग्ले

आर्थिक पत्र
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारमा सीमित समूहले करिब १५-१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर खुलासा गरेका छन्।

    मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली व्यक्तिहरूले बजार हेरफेर (मार्केट म्यानुपुलेसन) र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मार्फत वित्तीय प्रणालीमा कब्जा जमाएको दाबी गरे।

    अर्थमन्त्री वाग्लेका अनुसार यस्ता गतिविधिले आर्थिक क्षेत्रमा मात्र नभई मुलुकका राजनीतिक संस्थाहरूमा समेत नकारात्मक प्रभाव पारेको छ।

    “विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको कब्जामा गएको यथार्थ हामीले स्वीकार गर्नुपर्छ,” उनले भने, “जनताको अर्बौँ रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति जम्मा गर्नेहरूले राजनीतिक नेतृत्वलाई समेत प्रभावित पार्ने प्रयास गरेका थिए।” यस्ता समूहले देशका आर्थिक र राजनीतिक संरचनालाई कमजोर बनाएको उनको टिप्पणी थियो।

    मन्त्री वाग्लेले हालको राजनीतिक परिवर्तनलाई ‘जेन-जी आन्दोलन’ को परिणामका रूपमा व्याख्या गर्दै यसले मुलुकलाई गलत दिशामा जानबाट जोगाएको बताए।

    सरकारले अब सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको धारणा उद्धृत गर्दै भने, “पहिलो वर्ष सुशासनमा केन्द्रित हुनेछौं, त्यसपछि विकास निर्माणले स्वतः गति लिने आधार तयार हुनेछ।”

    पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको अर्थमन्त्रीले स्पष्ट पारे।

    यसका लागि स्टक एक्सचेन्जको पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने तयारी भइरहेको र आगामी बजेटमार्फत पुँजी बजार सुधारका लागि ठोस योजनाहरू ल्याइने उनले जानकारी दिए। यस कदमले बजारमा हुने कृत्रिम चलखेल रोकिने र आम लगानीकर्ताको हित संरक्षण हुने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार