Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

२० वर्षपछिको पुस्ताले सम्झिने गरी दीर्घकालीन योजना बनाउनुस्: परराष्ट्रमन्त्री खनाल

२० वर्षपछिको पुस्ताले सम्झिने गरी दीर्घकालीन योजना बनाउनुस्: परराष्ट्रमन्त्री खनाल

आर्थिक पत्र
आइतवार, जेठ ३ २०८३
  • काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले स्थानीय सरकारहरू अल्पकालीन राजनीतिक लाभभन्दा माथि उठेर दीर्घकालीन महत्वका योजना निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाद्वारा आज आयोजित आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह तथा सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

    काठमाडौं क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले अबको समय राजनीतिक दाउपेचमा अल्झिने नभई देश विकासका लागि काम गर्ने बेला आएको स्पष्ट पारे। “अबको २०-२५ वर्षपछिको पुस्ताले समेत सम्झने गरी उदाहरणीय काम गर्ने ऐतिहासिक अवसर अहिलेका स्थानीय जनप्रतिनिधिहरूसँग छ,” मन्त्री खनालले भने, “त्यसैले सस्तो अल्पकालीन राजनीतिभन्दा दूरगामी सोचका साथ योजनाहरू बनाउनुहोस्।”

    टोखाको भौगोलिक अवस्थाबारे चर्चा गर्दै उनले दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेकाले व्यवस्थित सहरीकरणमा ध्यान दिन नगरपालिकालाई आग्रह गरे।

    टोखाको ऐतिहासिक नेवारी संस्कृति, परम्परागत बस्ती र साप्ताहिक रूपमा शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उनको भनाइ थियो। उनले टोखामा घरबास (होमस्टे) को प्रचुर सम्भावना रहेकाले त्यसको विकासमा जोड दिए।

    विशेष गरी टोखा-छहरे सुरुङ मार्ग विस्तारका क्रममा टोखाका धेरै पुराना बस्तीहरू सडक मापदण्डका कारण विस्थापित हुने वा समस्यामा पर्ने जोखिम औंल्याउँदै मन्त्री खनालले यसको वैकल्पिक मार्ग खोज्नुपर्ने प्रस्ताव गरे।

    साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको विकल्पका रूपमा विकास गर्दा कम लागत र कम भौतिक क्षतिमा अन्तर्राष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको तर्क थियो। यसका साथै, नगरपालिकालाई थप प्रविधिमैत्री बनाई कर तिर्नेदेखि सामान्य सिफारिस लिनेसम्मका काम नागरिकले घरबाटै गर्न सक्ने गरी ‘डिजिटल’ प्रणाली पूर्ण रूपमा लागू गर्न उनले सुझाए।

    कार्यक्रममा बागमती प्रदेशकी सांसद एवं पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग ठूलो अपेक्षा राखेकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई नै केन्द्रमा राखेर आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने धारणा राखे।

    उनले विकास निर्माणका कार्यमा कसैले पनि राजनीति गर्न नहुनेमा जोड दिए। त्यस्तै, पूर्वमन्त्री डा. वंशीधर मिश्रले संविधान प्रदत्त अधिकारको दायराभित्र रहेर आवश्यक कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने र स्थानीयकै इच्छा र आकांक्षाअनुसार स्थानीय सरकार चल्नुपर्ने उल्लेख गरे।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरवासी र सरोकारवालाहरूबाट प्राप्त अमूल्य राय, सुझाव र सल्लाहलाई आत्मसात् गर्दै नगरपालिकाले आगामी आर्थिक वर्षको व्यावहारिक नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता जनाए।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए।

    उनका अनुसार नगरले हाल विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, स्वास्थ्य जाँचका लागि ‘मेयर दीर्घायु कार्यक्रम’, बाल पोषण भत्ता कार्यक्रम, सार्वजनिक जग्गाको संरक्षण तथा विभिन्न खोलाहरूमा ‘करिडोर’ निर्माणजस्ता जनमुखी कामहरूलाई तीव्रता दिएको छ। हाल ११ वटा वडाहरू रहेको टोखा नगरपालिकामा करिब १ लाख ३७ हजार जनसङ्ख्या बसोबास गर्दछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार