काठमाडौं । नेपालका लागि उबरको स्ट्राटेजिक पार्टनरको रुपमा ट्याक्सीमाण्डु चयन भएको छ । यस सम्बन्धमा उबर र ट्याक्सीमाण्डुबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार उबरले ट्याक्सीमाण्डुसँग सहकार्यमा प्राविधिक लगायतका विभिन्न टेस्टिङको काम गर्दै छ । नेपालमा दर्ता हुनुभन्दा पहिला जे जति काम गर्नु पर्दछ त्यो सबै काम ट्याक्सीमाण्डुसँगको सहकार्यमा उबरले गर्ने गरी सम्झौता भएको ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक अर्जुन केसीले बताए ।
उनले भने, 'उबरले नेपालमा दर्ता हुनुपूर्व गर्ने कामहरू हामीसँगको सहकार्यमा गर्नका लागि सम्झौता भएको हो । अर्थात् ट्याक्सीमाण्डु उबरको अथोराइज्ड लोकल पार्टनर भएको छ ।'
बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले बुधबारदेखि नेपालमा सेवा विस्तार गरेको छ । २ करोड रुपैयाँ नेपालमा भित्र्याएर लगानी गर्ने उबरको सोच रहेको छ । जसका लागि कम्पनीले उद्योग विभागमा लगानी स्वीकृतीका लागि प्रस्ताव पेश समेत गरेको छ ।
उबरले विश्वका ७० भन्दा बढी देशमा सेवा विस्तार गरेको छ ।

