Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बढ्दै बजारमा फाइबर सिमेन्टको माग, आइएमई समूहको कम्पनीले गर्‍यो ६ महिनामा झण्डै ५ करोडको व्यापार

बढ्दै बजारमा फाइबर सिमेन्टको माग, आइएमई समूहको कम्पनीले गर्‍यो ६ महिनामा झण्डै ५ करोडको व्यापार

आर्थिक पत्र
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ । आइएमई ग्रुपको लगानीमा स्थापना भएको एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगले ६ महिनामा नै झण्डै ५ करोडको व्यापार गरेको छ । नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योगले आर्थिक वर्ष २०८१।०८२ को ६ महिनामा ४ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।

    गत आर्थिक वर्षको २ महिनामा समेत कम्पनीले ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।सन् २०२३ मे मा स्थापना भएको कम्पनीले रौतहट जिल्लामा आफ्नो उत्पादन प्लान्ट स्थापना गरी सन् २०२५ मे देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीले छाना, सिलिङ, क्ल्याडिङ तथा फ्लोरिङमा प्रयोग हुने नन–एस्बेस्टस फाइबर सिमेन्ट सिट उत्पादन गर्दै आएको छ ।

    कम्पनीको वार्षिक उत्पादन क्षमता करिब २१ मिलियन स्क्वायर फिट रहेको छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन्। नेपालमा आधुनिक निर्माण सामग्रीको माग बढ्दै जाँदा कम्पनीले स्वदेशमै गुणस्तरीय फाइबर सिमेन्ट बोर्ड उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने रणनीति अघि सारेको देखिन्छ । विशेषगरी भवन निर्माण, व्यावसायिक संरचना तथा औद्योगिक परियोजनामा यस्ता सामग्रीको प्रयोग बढिरहेका कारण कम्पनीले बजार सम्भावनालाई लक्षित गर्दै उत्पादन थालेको हो ।

    गत वर्ष नेपालमा यस्ता बोर्डहरूको आयात ९ अर्ब रुपैयाँभन्दा बढी पुगेको थियो । अघिल्लो वर्षहरुमा समेत करिब १० अर्बको हाराहारीमा उक्त बोर्ड बिदेशबाट आयात हुने गरेका छन् । नेपालमा फाइबर सिमेन्ट बोर्डको प्रयोग शहरी निर्माण क्षेत्रमा क्रमश बढ्दै गएको हुँदा कम्पनीले आगामी दिनमा उल्लेख्य आम्दानी गर्ने सक्ने देखिएको छ ।

    कम्पनीको सञ्चालन नाफा सूचक ओपिबिडिटा मार्जिन पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्तिम दुई महिनामा १.४ प्रतिशत ऋणात्मक रहेको मार्जिन चालु आर्थिक वर्षको ६ महिनामा ९.४ प्रतिशत पुगेको छ । नयाँ उद्योगका लागि सुरुवाती लागत उच्च हुने भए पनि उत्पादन स्थिर बन्दै जाँदा सञ्चालन दक्षतामा सुधार आउन थालेको हो ।

    यद्यपि कम्पनीमाथि ऋणको भार भने उल्लेख्य देखिएको छ । कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात ४.१ गुणा पुगेको छ भने कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात ४.३ गुणा रहेको छ । उद्योग स्थापनामा उच्च लगानी आवश्यक पर्ने भएकाले कम्पनीले ठूलो मात्रामा ऋण परिचालन गरेको देखिन्छ । कम्पनीको ब्याज भुक्तानी क्षमता भने अझै दबाबमा रहेको देखिन्छ । इन्ट्रेस्ट कभरेज र डीएससीआर दुवै ०.२ गुणामा सीमित छन् ।

    यस उद्योगले स्थानीय रोजगार प्रवद्र्धनमा जोड दिएको छ। हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्।

    कम्पनीमा निशान ढकालको ४० प्रतिशत, ताशी वाङ्ग्याल लामाको ३० प्रतिशत, प्रदीप पण्डितको २० प्रतिशत तथा देसान लामाको १० प्रतिशत स्वामित्व रहेको छ ।

    कम्पनीको दीर्घकालीन कर्जा मूल्याङ्कन घटाइएको छ भने अल्पकालीन कर्जा मूल्याङ्कन यथावत् राखिएको छ । इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा सीमा ५६ करोड ४४ लाख रुपैयाँ बराबरको सुविधामा यसअघि रहेको ‘आईसीआरएनपीे एलबी प्लस’ बाट घटाएर ‘आईसीआरएनपीे एलबी’ कायम गरिएको हो ।

    त्यसैगरी कम्पनीको ४ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाको मूल्याङ्कन भने ‘आईसीआरएनपीे ए४’ मा यथावत् राखिएको छ । कम्पनीको कुल मूल्याङ्कन गरिएको कर्जा सीमा ६० करोड ४४ लाख रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार