Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बजेट जीडीपीको २८.५ प्रतिशत मात्र, सानो र यथार्थपरक भएको अर्थमन्त्रीको दाबी

बजेट जीडीपीको २८.५ प्रतिशत मात्र, सानो र यथार्थपरक भएको अर्थमन्त्रीको दाबी

आर्थिक पत्र
आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ठूलो नभई कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा सानो र यथार्थपरक रहेको दाबी गरेका छन् ।

    अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटलाई लिएर भइरहेको आलोचनाको खण्डन गर्दै बजेटको आकार २१ खर्ब रहेको तर प्रक्षेपित जीडीपीको तुलनामा यो २८.५ प्रतिशत मात्र रहेको स्पष्ट पारे ।

    उनका अनुसार आगामी वर्षको प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेकाले बजेटलाई ठूलो भन्न नमिल्ने उनले बताए ।

    “अर्थशास्त्रमा कहिल्यै पनि निरपेक्ष अंक होइन, सापेक्ष अनुपात हेर्नुपर्छ,” अर्थमन्त्री वाग्लेले भने, “त्यस आधारमा यो बजेट राज्यको क्षमता अनुसार सानो र सन्तुलित छ ।”

    उनले भूकम्प र कोभिड–१९ पछि बजेटको आकार अस्वाभाविक रूपमा बढेको उल्लेख गर्दै अहिले त्यसलाई घटाएर भूकम्पअघिको यथार्थपरक ट्रेन्डमा फर्काइएको बताए । उनका अनुसार त्यतिबेला बजेट जीडीपीको २५ देखि २९ प्रतिशतबीच रहने गर्थ्यो, तर पछि ३७ प्रतिशतसम्म पुगेको थियो ।

    अर्थमन्त्री वाग्लेले सार्वजनिक ऋणबारे उठेका प्रश्नको जवाफ दिँदै आगामी वर्ष सरकारले ३ खर्ब १८ अर्ब रुपैयाँ ऋण तिर्ने योजना रहेको जानकारी दिए। बाह्य ऋण २ खर्ब ४८ अर्ब र आन्तरिक ऋण ४ खर्ब १० अर्ब रहेको उल्लेख गर्दै उनले आन्तरिक ऋणको ठूलो हिस्सा पुरानै ऋण भुक्तानीमा प्रयोग हुने बताए ।

    उनका अनुसार बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रमा आधारित छ र यसले सुशासन, शिक्षा तथा स्वास्थ्यसहित मध्यम वर्गीय विस्तार, रोजगारी सिर्जना (१० देखि १२ लाख), पूर्वाधार तथा सहरी विकास र विदेशमा रहेका नेपालीको पुँजी नेपालमा भित्र्याउने पाँच मुख्य लक्ष्यलाई प्राथमिकता दिएको छ ।

    सरकारले आगामी वर्ष १० देखि १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको पनि उनले दोहोर्‍याए ।

    अर्थमन्त्री वाग्लेले बजारमा बजेटको आकार र कार्यान्वयन क्षमताबारे देखिएको बहस स्वाभाविक रहेको भन्दै यो बजेट अंकभन्दा पनि संरचनात्मक सुधार र आर्थिक स्थायित्वमा केन्द्रित रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार