Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मोबाइल उद्योग विकासका लागि क्यान महासंघ र एनएमडिएबीच सहकार्य

मोबाइल उद्योग विकासका लागि क्यान महासंघ र एनएमडिएबीच सहकार्य

आर्थिक पत्र
सोमवार, जेठ १८ २०८३
  • काठमाडौं। नेपालको मोबाइल उद्योगको विकास तथा यस क्षेत्रमा देखिएका नीतिगत र व्यावसायिक चुनौती समाधानका लागि कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडिए) बीच संस्थागत सहकार्य सुरु भएको छ।

    क्यान महासंघको केन्द्रीय कार्यालय, खुसिबुमा आइतबार दुवै संस्थाका पदाधिकारीबीच भएको छलफलमा मोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार, अवैध आयात (ग्रे मार्केट) नियन्त्रण तथा मोबाइल इकोसिस्टमको व्यवस्थित विकासका विषयमा सहकार्य गर्ने सहमति भएको हो।

    बैठकमा मोबाइल क्षेत्रले लामो समयदेखि भोग्दै आएको नीतिगत अस्पष्टता, अनधिकृत च्यानलमार्फत भित्रिने मोबाइल फोनका कारण उत्पन्न समस्या तथा उपभोक्ता र व्यवसायी दुवैको हित संरक्षणका उपायबारे विस्तृत छलफल भएको जनाइएको छ।

    क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारीले सूचना प्रविधि तथा मोबाइल क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधारमध्ये एक बनिसकेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि संयुक्त पहल आवश्यक रहेको बताए।

    उनले अवैध आयातका कारण राज्यले ठूलो राजस्व गुमाइरहेको र वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताए। यस्ता गतिविधिविरुद्ध दुवै संस्था मिलेर सशक्त रूपमा आवाज उठाउने उनको भनाइ थियो।

    त्यस्तै, एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले व्यावहारिक आयात नीति निर्माण र कार्यान्वयनका लागि क्यान महासंघसँगको सहकार्यले मोबाइल व्यवसायीहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

    छलफलमा मोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत पैरवी, ग्रे मार्केट नियन्त्रण, मोबाइल इकोसिस्टमको नियमन तथा दीर्घकालीन सहकार्यको कार्ययोजना निर्माणका विषयलाई प्राथमिकतामा राखिएको थियो।

    दुवै संस्थाले संयुक्त पहलमार्फत नेपाली मोबाइल बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने तथा उपभोक्ताले वारेन्टीसहितका आधिकारिक मोबाइल उपकरण सहज रूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार