Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पुँजीकोष नपुगेपछि ५ लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, सञ्चालक र सीईओलाई पनि चेतावनी

पुँजीकोष नपुगेपछि ५ लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, सञ्चालक र सीईओलाई पनि चेतावनी

आर्थिक पत्र
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासमा विभिन्न लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि कारबाही गरेको छ।

    राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) कायम गर्न नसकेका पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ । साथै तीन लघुवित्तलाई नियमविपरीत निर्णय र वित्तीय अनुशासन उल्लंघन गर्ने सञ्चालक समिति तथा एक प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।

    राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासको सुपरिवेक्षणका क्रममा आरम्भ चौतारी, गणपति, सामुदायिक, नेरुडे मिर्मिरे र सीवाईसी नेपाल लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो।

    राष्ट्र बैंकका अनुसार ती संस्थाले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार कायम गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरिएको हो।

    आरम्भ चौतारी लघुवित्तले गत असार मसान्तसम्म ७.७७ प्रतिशत, गणपति लघुवित्तले ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तले ६.१२ प्रतिशत, सीवाईसी नेपालले ६.२० र नेरुडे मिर्मिरे लघुवित्तले ६.०१ प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात कायम गरेको राष्ट्र बैंकले जनाएको छ।

    कारबाहीपछि ती संस्थाले नगद लाभांश वा बोनस सेयर घोषणा गर्न, नयाँ शाखा विस्तार गर्न तथा सञ्चालक र उच्च व्यवस्थापनको तलब–भत्ता तथा सुविधा बढाउन पाउने छैनन्। राष्ट्र बैंकले उनीहरूसँग पुँजी वृद्धि योजना पनि माग गर्नेछ।

    यस्तै,धौलागिरि लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिलाई कर्मचारी सेवा विनियमावलीविपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गराउनुका साथै स्पष्ट आधारबिनै सेवामा नरहेको अवधिको पारिश्रमिकसमेत भुक्तानी गरेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराइएको छ।

    त्यसैगरी सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिलाई आर्थिक प्रशासन विनियमावलीमा तोकिएको खर्च सीमा र अख्तियारी पालना नगरी सवारीसाधन खरिद गरेको भन्दै सचेत गराइएको छ।

    राष्ट्र बैंकले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई पनि कर्जा नोक्सानी व्यवस्था फिर्ता गर्दा सम्बन्धित ऋणीको विवरण यकिन नगरी निर्देशनविपरीत आम्दानी लेखाङ्कन गरेको भन्दै भविष्यमा यस्तो कार्य नदोहो¥याउन चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार