Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । लगातार गिरावटमा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार २१ कारोबार दिनपछि दोहोरो अंकले उकालो लागेको छ। पछिल्ला सात कारोबार दिनदेखि जारी गिरावट रोकिँदै बजारमा आज खरिद चाप बढेसँगै सूचक सकारात्मक दिशामा फर्किएको हो।

    नेप्से परिसूचक आज ४४.५९ अंकले वृद्धि हुँदै २६५२.९३ विन्दुमा पुगेको छ। यससँगै सात कारोबार दिनदेखि लगातार ओरालो लागेको बजारले पुनः सुधारको संकेत देखाएको छ।

    यसअघि नेप्से पछिल्लोपटक जेठ १९ गते मंगलबार २२.२१ अंकले बढेको थियो। त्यसयताका २१ कारोबार दिनमध्ये बजार केवल ४ दिन मात्र बढेको थियो भने १७ दिन घटेको थियो। तीमध्ये ८ कारोबार दिनमा नेप्से दोहोरो अंकले घटेको तथ्यांकले देखाउँछ।

    आजको कारोबारमा सेन्सेटिभ इन्डेक्स ५.७७ अंक, फ्लोट इन्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०४ अंकले बढेका छन्। 

    बजारमा आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। तीमध्ये व्यापार उपसमूह सर्वाधिक २.६० प्रतिशतले बढेको छ। त्यसैगरी जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

    कारोबार रकम पनि बढेको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सो दिन ३६२ स्टकको ५६ हजार ८५० पटक कारोबार हुँदा ९५ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ।

    आज स्नो रिभर्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य ६८ रुपैयाँ १० पैसाले बढेर ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो।

    त्यस्तै सिवाईसी लघुवित्तको सेयर मूल्य १४ प्रतिशतभन्दा बढीले बढेको छ भने भुजुङ्ग हाइड्रोपावरको सेयर मूल्य पनि करिब १४ प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ५.२१ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २८ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्स, आँखु खोला जलविद्युत कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम उल्लेख्य रहेको नेप्सेले जनाएको छ।

    लगातारको गिरावटपछि आएको यो सुधारलाई बजार विश्लेषकहरूले खरिद चाप र समूहगत सेयरमा देखिएको सुधारको परिणामका रूपमा व्याख्या गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार