काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) उत्कृष्ट वार्षिक प्रतिवेदन (नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५) अन्तर्गत सञ्चार तथा सूचना प्रविधि क्षेत्रको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा कम्पनीले सार्वजनिक गरेका वित्तीय खुलासाको मूल्यांकनका आधारमा एनसीएचएललाई उक्त सम्मान प्रदान गरेको हो।
आइक्यानले हरेक वर्ष वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, संस्थागत सुशासन तथा उत्तरदायित्वका आधारमा विभिन्न संस्थालाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्रदान गर्दै आएको छ। एनसीएचएलले प्राप्त गरेको यो सम्मानले कम्पनीको पारदर्शी वित्तीय प्रतिवेदन, सूचना प्रकटीकरण र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाएको छ।
एनसीएचएलले यसअघि पनि आइक्यान तथा साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) बाट उत्कृष्ट वार्षिक प्रतिवेदनसम्बन्धी सम्मान प्राप्त गरिसकेको जनाएको छ।
हाल एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थामार्फत NCHL-ECC, NCHL-IPS, Retail Payment Switch (RPS), National Payment Switch, connectRTGS, National Payments Interface (NPI), connectIPS, CORPORATEPAY, NEPALPAY QR तथा NEPALPAY Card लगायतका राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ।
कम्पनीका अनुसार बीमा, रेमिट्यान्स, भुक्तानी सेवा प्रदायक (PSP), भुक्तानी प्रणाली सञ्चालक (PSO), सरकारी तथा अर्धसरकारी निकायसहित १२५ भन्दा बढी संस्था अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।

