काठमाडौं। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरूका संस्थापक अध्यक्षहरू क्रमशः स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, स्वर्गीय हरि प्रसाद गिरी, स्वर्गीय अशोक श्रेष्ठ, स्वर्गीय नवराज बहादुर सिंह तथा स्वर्गीय सीताराम प्रसाईंको स्मृतिमा यो छात्रवृत्ति स्थापना गरिएको हो।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रति विद्यार्थी ५० हजार रुपैयाँ बराबरको रकम छात्रवृत्तिको रूपमा प्रदान गरिएको बैंकले जनाएको छ।
जसअन्तर्गत स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति काठमाडौँको नक्सालस्थित श्री नन्दी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालालाई मिति २०८३ असार १७ गते आयोजित एक कार्यक्रमका बीच प्रदान गरिएको छ।
उक्त छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा राजेश बाबु श्रेष्ठ तथा यस बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक श्रीमती गीता काफ्लेमार्फत हस्तान्तरण गरेका हुन्।
यसैगरी स्वर्गीय हरि प्रसाद गिरी महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति पर्साको वीरगन्ज-०४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिषा शाहलाई बैंकका सञ्चालक श्याम सुन्दर रुङ्गटाले प्रदान गरेका छन् भने स्वर्गीय नवराज बहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति कैलालीको धनगढीस्थित श्री शारदा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई बैंकका सञ्चालक सागर मल्लले हस्तान्तरण गरेका छन्।
त्यस्तै, स्वर्गीय अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति मकवानपुरको हेटौँडास्थित श्री अमर माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई बैंकका बागमती ख प्रदेश प्रमुखले प्रदान गरेका छन्।
स्वर्गीय सीताराम प्रसाईं महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति भने झापाको मेचीनगर-१४ स्थित श्री सीताराम सामुदायिक अङ्ग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुस महिनामै प्रदान गरिएको बैंकले उल्लेख गरेको छ।
यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरूलाई आर्थिक अभावकै कारण अध्ययनबाट वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ। विगत ३२ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन्।

