काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०९ अंकले घटेर २,६२१.५९ विन्दुमा बन्द भएको छ। मंगलबार सार्वजनिक भएको मौद्रिक नीतिमा बजारले अपेक्षा गरेअनुसारका थप सहुलियतपूर्ण व्यवस्था नआएपछि लगानीकर्ताको मनोबल कमजोर बन्दै बजारमा गिरावट आएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ३.९३ अंक, फ्लोट इन्डेक्स २.०६ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.४२ अंकले घटेका छन्।
कारोबार रकम ४.८२ अर्ब रुपैयाँ
परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३६२ कम्पनीका ८४ लाख ६३ हजार कित्ता सेयर ७७ हजार ६२७ पटक किनबेच हुँदा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा सर्वाधिक गिरावट
बजारमा कारोबार भएका कम्पनीमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १३.४१ प्रतिशतले घटेको छ। त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतभन्दा बढी र सानिगाड हाइड्रोको करिब ६.५ प्रतिशतले घटेको छ।
डिबेञ्चरमा उच्च कारोबार
कारोबार रकमका आधारमा ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रह्यो। उक्त डिबेञ्चरको ६२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै, ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को ४३ करोड रुपैयाँभन्दा बढी तथा ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को करिब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
१२ उपसमूह ओरालो, जलविद्युतमा सबैभन्दा बढी गिरावट
बुधबार कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूह मात्रै सामान्य बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्।
सबैभन्दा बढी जलविद्युत उपसमूह १.७० प्रतिशतले घटेको छ। यस्तै बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
बजार विश्लेषकहरूका अनुसार मौद्रिक नीतिले लगानीकर्ताले अपेक्षा गरेको स्तरको बजारमुखी व्यवस्था नसमेटेकाले अल्पकालीन रूपमा नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दा नेप्सेमा गिरावट देखिएको हो।

