Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह

आर्थिक पत्र
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले अहिले नेपालमा लगानीका लागि उपयुक्त समय रहेको बताए।

    यूएईका विदेश व्यापारमन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रिभोज कार्यक्रममा बोल्दै ढकालले नेपाल–यूएई सम्बन्धलाई श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता र संयुक्त लगानीतर्फ विस्तार गर्नुपर्ने बताए।

    उनले पछिल्लो पाँच दशकमा यूएईले व्यापार, लगानी, वित्त, पर्यटन, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा हासिल गरेको प्रगतिले खुला आर्थिक नीति, दूरदर्शी नेतृत्व र लगानीमैत्री वातावरणको महत्व देखाएको बताए। त्यसबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो।

    सन् २०२७ मा नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने उल्लेख गर्दै ढकालले यो अवसरलाई दुई देशबीचको आर्थिक साझेदारी थप मजबुत बनाउने आधारका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

    उनले नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता (बीआईए), दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता (डीटीएए) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको बताए। यस्ता सम्झौताले लगानीकर्ताको विश्वास बढाउनुका साथै दुई देशबीच व्यापार र लगानी विस्तारमा सहयोग पुर्‍याउने उनको भनाइ थियो।

    ढकालले नेपालमा जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि, सहरी पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग तथा आपूर्ति शृंखलासम्बन्धी क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको बताए।

    नेपालसँग प्राकृतिक स्रोत र सम्भावना रहेको तथा यूएईसँग प्रविधि, अनुभव र लगानी क्षमता रहेको उल्लेख गर्दै उनले दुवै देशको सहकार्यबाट विश्वस्तरीय परियोजना विकास गर्न सकिने बताए। संयुक्त लगानीबाट रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र साझा समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो।

    आईएमई ग्रुपले बैंकिङ, विप्रेषण र डिजिटल भुक्तानी सेवामार्फत यूएईका विभिन्न वित्तीय संस्थासँग लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै ढकालले आगामी दिनमा पर्यटन पूर्वाधार, केबलकार, स्तरीय पर्यटकीय संरचना, जलविद्युत् तथा एकीकृत मनोरञ्जन पूर्वाधारमा समेत संयुक्त लगानी विस्तार गर्न सकिने बताए।

    एफएनसीसीआईको अध्यक्ष रहँदा दुबईमा नेपाल–यूएई व्यापार सम्मेलन आयोजना गरेको तथा विश्व सरकार सम्मेलनमा सहभागिता जनाएको स्मरण गर्दै उनले यूएईले नेपाललाई सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा हेरेको बताए।

    “नेपाल तयार छ। अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय हो,” ढकालले भने, “दुवै देशका निजी क्षेत्रबीच लगानी, नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक छ।”

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार