Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

आर्थिक पत्र
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं । लगातारको गिरावट रोक्न तत्काल नीतिगत हस्तक्षेपको माग गर्दै सेयर लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेकै दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। चार कारोबार दिन लगातार घटेको नेप्से मंगलबार ६.११ अंकले बढेर २ हजार ५७६.२९ विन्दुमा पुगेको छ।

    सेयर बजार सुधारका लागि ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ ल्याउनुपर्ने माग गर्दै लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान खुमलटारस्थित सेबोन कार्यालय घेराउ गरिएको थियो।

    लगानीकर्ताहरूले पूँजी बजार संकटमा परेको भन्दै सरकार र नियामक निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए। उनीहरूले ‘पूँजी बजार बचाउ’, ‘तत्काल रेस्क्यु प्लान लागू गर’, ‘नियामक निकाय मुकदर्शक बन्न पाउँदैन’ लगायतका नारासहित प्रदर्शन गरेका थिए।

    यसअघि सेबोनमा तालाबन्दी गर्ने चेतावनी दिइएपछि बोर्ड परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीले मुख्य प्रवेशद्वार बन्द गर्नुका साथै सम्भावित अप्रिय अवस्था रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो।

    अध्यक्ष भट्टले बोलाए वार्तामा

    लगानीकर्ताको दबाबपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपालप्रसाद भट्टले वार्ताका लागि आह्वान गरेका छन्। उनले आन्दोलनरत लगानीकर्ताबाट पाँच जना प्रतिनिधि पठाउन आग्रह गर्दै बजार सुधारका विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन्।

    अध्यक्ष भट्टले लगानीकर्ताका माग र बोर्डले चाल्न सक्ने सम्भावित कदमबारे छलफल गर्ने बताएका छन्। उनले अर्थमन्त्रीसँग पनि छलफलका लागि सिंहदरबार पुगेको जानकारी लगानीकर्तालाई दिएका छन्।

    तर लगानीकर्ताले भने केवल आश्वासन नभई बजार स्थायित्वका लागि ठोस कार्ययोजना आवश्यक रहेको बताएका छन्। उनीहरूले तत्काल नीतिगत सुधार, लगानीकर्ताको विश्वास पुनःस्थापना र नियामक निकायको सक्रिय भूमिका माग गरेका छन्।

    कारोबार रकम बढ्यो

    मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३८३ वटा स्टकको ५३ हजार ८५४ पटक कारोबार हुँदा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको छ।

    मंगलबार सेन्सेटिभ इन्डेक्स ०.७९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.३२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले बढेको छ।

    ऋणपत्रमा उच्च कारोबार

    यस दिनको कारोबार रकम बढ्नुमा ऋणपत्रको कारोबारको समेत ठूलो योगदान रहेको छ। कारोबार रकमका आधारमा शीर्ष १० स्थानमा रहेका स्टकमध्ये अधिकांश ऋणपत्र रहेका छन्। १० प्रतिशत केबीएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    त्यस्तै, १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को ३९ करोड रुपैयाँभन्दा बढी र ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चरको साढे ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। एभरेष्ट बैंक लिमिटेड डिबेञ्चरको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ।

    मंगलबार ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य सर्वाधिक १०.२२ प्रतिशत बढेको छ। सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य करिब १० प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

    यता ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० को मूल्य ९.६८ प्रतिशत घटेको छ।

    १२ उपसमूह बढे

    मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने ०.१८ प्रतिशत घटेको छ।

    व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत बढेको छ।

    बजारमा सामान्य सुधार देखिए पनि पछिल्लो गिरावटका कारण लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ। बजार सुधारका लागि नियामक र सरकारको आगामी कदमप्रति लगानीकर्ताको ध्यान केन्द्रित भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार