काठमाडौं । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं ६४) ले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क १० दिने शेयर तालिम सञ्चालन गर्ने भएको छ।
काठमाडौं बाहिर तथा विदेशमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी आयोजना गर्न लागिएको तालिम अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। तालिम गुगल मिट प्लेटफर्ममार्फत दैनिक साँझ ७ः३० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।
तालिममा शेयर बजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजरहरूले शेयर छनोट गर्ने तरिका, लगानीमा लिभरेजको प्रयोग तथा जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध वित्तीय साधनलगायतका विषयमा जानकारी दिइनेछ।
त्यस्तै, भ्यालु इन्भेस्टिङ र मल्टि–बैगर शेयर पहिचान गर्ने तरिका, लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, प्राविधिक विश्लेषणअन्तर्गत क्यान्डल, प्याटर्न, चार्ट, ट्रेन्ड तथा विभिन्न इन्डिकेटरबारे समेत प्रशिक्षण दिइनेछ।
तालिमको अन्तिम चरणमा वर्तमान बजार परिवेशमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे प्यानल छलफल समेत आयोजना गरिनेछ। उक्त छलफलमा लगानीकर्ता अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्त सहभागी हुनेछन्।
सन सेक्युरिटिजले शेयर बजारमा लगानी गर्ने सर्वसाधारणको ज्ञान, क्षमता र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत उक्त तालिम आयोजना गर्न लागेको जनाएको छ।
कार्यक्रमको संयोजन विवेक अधिकारी र दिपकराज पन्तले गर्नेछन्।

