काठमाडौं । महिन्द्रा ब्रान्डका सवारी साधनको स्पेयर पार्ट्सको आधिकारिक विक्रेता तथा आधिकारिक सर्भिस सेन्टर सञ्चालन गर्दै आएको बालाजु अटो वर्कस (BAW) प्रालिले ९ महिनामा ८२ करोड रूपैयाँ आम्दानी गरेको छ।
इक्रा नेपालका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३ को ९ महिनामा ८२ करोड रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले २०२५ मा १ अर्ब ५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो। यस्तै, २०२४ मा १ अर्ब ८ करोड ५० लाख, २०२३ मा १ अर्ब ८ करोड २० लाख, २०२२ मा १ अर्ब ४१ करोड ३० लाख र २०२१ मा १ अर्ब १० करोड रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीले ६३ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाको रेटिङ गराएको छ। इक्रा नेपालले उक्त कर्जालाई [ICRANP] A4+ रेटिङ दिएकाे छ। कम्पनीको ऋण तिर्न सक्ने क्षमतामा सुधार देखिएकाे छ । ब्याज तिर्न सक्ने क्षमता (Interest Coverage Ratio) आर्थिक वर्ष २०२५ मा २.२ गुणा रहेकोमा २०२६ मा बढेर २.३ गुणा पुगेको छ। त्यस्तै, किस्ता तिर्न सक्ने क्षमता (DSCR) २.३ गुणाबाट २.५ गुणामा सुधार भएको छ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन (OPM) ४.२ प्रतिशत रहेकोमा पछिल्लो समय बढेर ५.४ प्रतिशत पुगेको छ।
अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस (BAW) सन् १९५६ मा स्थापना भएको थियो। BAW ले नेपालमा महिन्द्रा सवारीसाधनका स्पेयर पार्ट्सको एकमात्र आधिकारिक विक्रेता हो। जसले महिन्द्राको सर्भिस सेन्टर पनि सञ्चालन गर्दै आएको छ। कम्पनीले देशभर १७ वटा आफ्नै सर्भिस सेन्टर र ३५ वटा क्षेत्रीय डिलर नेटवर्क मार्फत सेवा दिँदै आएको छ।
BAW मा क्याबिनेट श्रेष्ठको ४१ प्रतिशत लगानी रहेको छ। सुसान वैद्य श्रेष्ठको ३२ प्रतिशत र अर्जुन प्रसाद शर्माको २७ प्रतिशत शेयर रहेको छ।

