काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यो आयोजना चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने भएको हो।
सडक विभागका अनुसार उद्घाटनपछि प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ। त्यसपछि सुरक्षासम्बन्धी सम्पूर्ण प्रणाली परीक्षण गरी करिब एक महिनाभित्र सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्ने कार्यक्रम तय भएको विभागले जनाएको छ।
७९ महिनापछि निर्माण सम्पन्न
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ गते सुरु भएको थियो। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, स्थानीय अवरोध तथा विभिन्न प्राविधिक चुनौतीका कारण आयोजना करिब ७९ महिनापछि सम्पन्न भएको हो।
निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको थियो। कम्पनीले गत जेठमै आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। सम्झौताअनुसार हस्तान्तरणपछि एक वर्षसम्म सुरुङमा कुनै प्राविधिक समस्या देखिए निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ।
२७ अर्ब ५० करोड रुपैयाँको लगानी
यो आयोजनामा जापान सरकारले करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले करिब ६ अर्ब रुपैयाँ लगानी गरेको छ। यसरी आयोजनाको कुल लागत करिब २७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
आयोजनाअन्तर्गत मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ भने आपत्कालीन उद्धारका लागि छुट्टै २ हजार ५ सय ५७ मिटर लामो इभ्याकुएसन सुरुङ निर्माण गरिएको छ। दुवै सुरुङ तथा क्रस–प्यासेजसहित कुल संरचनाको लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ।
सुरुङसँगै दुवैतर्फ जोडिने करिब २.८ किलोमिटर पहुँच सडक पनि निर्माण गरिएको छ।
चरणबद्ध रूपमा सञ्चालन
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार उद्घाटनपछि सुरुङ सञ्चालन तत्कालै सर्वसाधारणका लागि खुला गरिने छैन।
उनका अनुसार उद्घाटन भएको एक साताभित्र सुरुङभित्र हुनसक्ने आगलागी, दुर्घटना तथा अन्य विपद्को पूर्वतयारीका लागि 'मक ड्रिल' गरिनेछ। त्यसपछि करिब एक सातासम्म परीक्षणका रूपमा एकतर्फी सवारी सञ्चालन गरी जेट फ्यान, भेन्टिलेसन प्रणाली, वायु उत्सर्जन तथा अन्य सुरक्षा प्रणालीको प्राविधिक परीक्षण गरिनेछ।
यी सबै परीक्षण सफल भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको तयारी छ।
पाँच वर्ष निजी कम्पनीले सञ्चालन गर्ने
सुरुङ सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन–एआरटी जेभीले पाएको छ। यसमा चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटी सहभागी छन्।
सम्झौताअनुसार उक्त कम्पनीले पाँच वर्षसम्म सुरुङ सञ्चालन, मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल संकलन तथा पहुँच सडकको नियमित रेखदेख गर्नेछ।
सुरुङ चौबीसै घण्टा सञ्चालन हुने भएकाले करिब १५० कर्मचारी विभिन्न सिफ्टमा खटाइनेछन्। उनीहरूलाई सुरुङ सुरक्षा, उद्धार प्रणाली तथा उपकरण सञ्चालनसम्बन्धी विशेष तालिम दिइसकिएको छ।
पूर्ण रूपमा डिजिटल टोल प्रणाली
सुरुङमार्गमा पूर्ण रूपमा डिजिटल टोल प्रणाली लागू गरिने भएको छ।
यसका लागि एन–ट्याग तथा आरएफआईडी प्रविधि प्रयोग हुनेछ। सवारीधनीले सम्बन्धित बैंकबाट एन–ट्याग लिएपछि बैंक खाताबाट रकम स्वतः कार्डमा लोड हुनेछ। सुरुङ प्रवेश गर्दा कार्ड स्क्यान गरेपछि तोकिएको शुल्क स्वतः कट्ने र गेट खुल्ने व्यवस्था गरिनेछ।
प्रारम्भिक रूपमा अधिकतम दुई हजार रुपैयाँसम्म डिपोजिट गर्न सकिनेछ। यसका लागि 'क' वर्गका १३ वाणिज्य बैंकसँग सहकार्य गरिएको छ।
एन–ट्यागबाहेक आरएफआईडी स्टिकर प्रयोग गर्ने व्यवस्था पनि हुनेछ। एक वा दुई पटक मात्रै सुरुङ प्रयोग गर्ने सवारीका लागि भने क्यूआर कोड र फोन–पे मार्फत पनि शुल्क तिर्न सकिने व्यवस्था मिलाइनेछ।
दैनिक उठेको सम्पूर्ण टोल रकम सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ।
यस्तो छ टोल शुल्क
सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्क निर्धारण गरिसकेको छ।
कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
मिनीबस, ट्रक तथा टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।
ठूला बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।
हेभी ट्रक तथा लरीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन निर्देशिकाअनुसार पैदलयात्री, साइकल, मोटरसाइकल, तीनपांग्रे तथा अन्य गैर–मोटरयुक्त सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।
त्यस्तै डिजेल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ। यस्ता सवारीले पुरानै नागढुंगा–सिस्नेखोला सडक प्रयोग गर्नुपर्नेछ।
पूर्वाधार विकासमा नयाँ अध्याय
महानिर्देशक जैसीले प्राविधिक चुनौती र विभिन्न अवरोध पार गर्दै आयोजना सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसले नेपालमा आधुनिक सुरुङमार्ग निर्माण सम्भव रहेको सन्देश दिएको बताए।
उनका अनुसार सुरुङमार्गले नागढुंगाको कठिन उकालो, लामो ट्राफिक जाम तथा वर्षायाममा हुने पहिरोको जोखिम कम गर्दै काठमाडौं–धादिङ आवागमनलाई सुरक्षित, छिटो र भरपर्दो बनाउने अपेक्षा गरिएको छ। नेपालको सडक पूर्वाधार विकासमा यो आयोजना एउटा महत्वपूर्ण कोशेढुंगा हुने विश्वास सरकारको छ।

