काठमाडौं । आईपीओ बिक्रीको तयारीमा रहेको प्रभु हेलिकप्टरले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा २८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२४ मा २६ करोड, सन् २०२३ मा ४१ करोड ७० लाख, सन् २०२२ मा २२ करोड ८० लाख र सन् २०२१ मा १२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ । एजेन्सीले नेपालले प्रभु हेलिकप्टर लाई ‘आईआरएन बीबी माइनस’ इश्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले दीर्घकालीन ३० करोड ४७ लाख रुपैयाँको बैंक कर्जाका लागि ‘आईआरएन बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । त्यस्तै, सर्ट टर्म ६ करोड ५१ लाख रुपैयाँ कर्जाका लागि ‘आईआरएन ए४’ रेटिङ पाएको छ । लङ टर्म २३ लाख २० हजार अमेरिकी डलर कर्जाका लागि पनि ‘आईआरएन बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ ।
रेटिङ एजेन्सीका अनुसार हेलिकप्टरको करिब एक दशक लामो सञ्चालन अनुभव, अनुभवी सञ्चालक तथा व्यवस्थापन टोली, सुधारिएको पुँजी संरचना र लगातार सकारात्मक सञ्चालन नाफाले रेटिङलाई समर्थन गरेको छ । कम्पनीले सन् २०१५ देखि हेलिकोप्टर सेवा सञ्चालन गर्दै आएको छ ।
प्रभुले हेलि साइटसिइङ, मेडिकल इभ्याकुएसन, उद्धार सेवा, एरियल सर्भे तथा चार्टर उडान सेवा प्रदान गर्दै आएको छ । कम्पनीको सञ्चालन आम्दानी २०८१/८२ मा सुधार भएको छ । २०८०/८१ मा एउटा हेलिकोप्टर ग्राउन्डेड भएपछि आम्दानीमा गिरावट आएको भए पनि कम्पनीले पुनः सुधारको बाटो समातेको र नाफा वृद्धिमा प्रगति देखाएको छ ।
हेलिकप्टरको खुद नाफा पनि उल्लेखनीय रूपमा बढेको छ । सन् २०२५ मा प्रभु हेलिकोप्टरले १० करोड रुपैयाँ नाफा कमाएको छ । इबीआईटीडीए मार्जिन ४६ प्रतिशत पुगेको छ । रेटिङ प्रतिवेदनले कम्पनीको पुँजी संरचनामा समेत सुधार देखिएको जनाएको छ । समग्र गियरिङ अनुपात सन् २०२५ मा १.२४ गुणामा झरेको छ, जुन सन् २०२१ मा १८.०६ गुणा थियो । ब्याज भुक्तानी क्षमता र नगद प्रवाहमा पनि सुधार देखिएको छ ।
यद्दपि, कम्पनीको आम्दानी अत्यधिक रूपमा खुम्बु क्षेत्रमा केन्द्रित रहेको भन्दै रेटिङ एजेन्सीले जोखिम औंल्याएको छ । कम्पनीको कुल आम्दानीमध्ये करिब ५८ प्रतिशत हिस्सा खुम्बु क्षेत्रबाट आएको छ । मनास्लु क्षेत्रको योगदान १० प्रतिशत, सिमिकोटको ८ प्रतिशत, कञ्चनजंघाको ५ प्रतिशत तथा उद्धार सेवाको ५ प्रतिशत रहेको छ ।
त्यस्तै, कम्पनीको आम्दानी नेपालमा ट्रेकिङ तथा पर्वतारोहण सिजनमा निर्भर रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्मको अवधिले मात्रै सन् २०२५ को कुल आम्दानीको करिब ६९ प्रतिशत हिस्सा ओगटेको छ ।
इन्धन मूल्यमा हुने उतारचढाव र अमेरिकी डलरमा रहेको कर्जा दायित्व पनि कम्पनीका लागि प्रमुख जोखिमका रूपमा रहेका छन् । हेलिकप्टरसँग सन् २०२६ जुनसम्म २.३२ मिलियन डलर बराबरको दीर्घकालीन कर्जा रहेको छ । हाल प्रभुसँग दुईवटा एयरबस हेलिकोप्टर छन् । कम्पनीको चुक्ता पुँजी ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ भने सनराइज होल्डिङ्स र कम्पनीका अध्यक्ष सुभाष अमात्य प्रमुख सेयरधनी हुन् ।
प्रभु हेलिकोप्टर लिमिटेडले ६१ लाख २५ हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि बोर्डसमक्ष आवेदन दिएको हो ।

