काठमाडौं । पछिल्लो समयको वृद्धिपछि अल्पकालीन लगानीकर्ता हाबी हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबार दिन सोमबार पुनः २७ सयको विन्दुमा झरेको छ । सोमबार नेप्से परिसूचक ३३ दशमलव २८ अंकले घटेर २ हजार ७०१ दशमलव ३२ विन्दुमा कायम भएको हो ।
पछिल्ला नौ कारोबार दिनमध्ये आठ दिन बजार बढेको थियो । सो अवधिमा नेप्से करिब १६० अंकभन्दा बढीले उकालो लागेको थियो । छोटो अवधिमा भएको वृद्धिपछि नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्दा बिक्री चाप देखिएको बजार विश्लेषकहरू बताउँछन् ।
सोमबार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार सोमबार ३६० वटा कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६९ हजार ८०३ पटक कारोबार भएको हो ।
कारोबारमा आएका कम्पनीमध्ये ३६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २३४ वटा कम्पनीको मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

