Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

डिजिटल वित्तीय ठगी बढ्दै, समयमै ‘रेड फ्ल्याग’ चिन्न राष्ट्र बैंकको सुझाव

डिजिटल वित्तीय ठगी बढ्दै, समयमै ‘रेड फ्ल्याग’ चिन्न राष्ट्र बैंकको सुझाव

आर्थिक पत्र
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं। डिजिटल बैंकिङ, मोबाइल वालेट तथा अनलाइन वित्तीय सेवाको प्रयोग बढ्दै जाँदा वित्तीय ठगीका नयाँ–नयाँ शैली पनि बढिरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई वित्तीय ठगीका संकेत (रेड फ्ल्याग) समयमै पहिचान गरी सचेत रहन आग्रह गरेको छ।

    राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सोमबार जारी गरेको वित्तीय साक्षरता सन्देशमा ठगी गर्ने समूहले विश्वासिलो कथा बनाएर पैसा वा वित्तीय जानकारी चोर्ने प्रयास गर्ने भएकाले कुनै पनि अस्वाभाविक गतिविधिप्रति सजग रहनुपर्ने उल्लेख गरिएको छ।

    राष्ट्र बैंकका अनुसार वित्तीय ठगीबाट बच्ने पहिलो उपाय नै सम्भावित ‘रेड फ्ल्याग’ समयमै पहिचान गर्नु हो। प्रविधिको विकाससँगै ठगीका तरिका पनि परिवर्तन भइरहेकाले जोसुकै व्यक्ति यसको शिकार बन्न सक्ने चेतावनी दिइएको छ।

    महाशाखाले केही प्रमुख संकेत सार्वजनिक गरेको छ। अपरिचित व्यक्ति वा संस्थाले लिङ्क वा फाइल (अट्याचमेन्ट) पठाएर खोल्न लगाउनु, कुराकानीको शैली अस्वाभाविक हुनु, तत्काल पैसा पठाउन दबाब दिनु वा वित्तीय जानकारी माग्नु ठगीका प्रमुख संकेत हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

    यस्तै, पठाउनुपर्ने खाताभन्दा फरक वा अपरिचित खातामा रकम पठाउन लगाउनु, सामाजिक सञ्जालमार्फत मात्र सम्पर्क गरेर कारोबार गर्न खोज्नु तथा प्रयोगकर्ताको युजरनेम, पासवर्ड, पिन वा ओटीपी माग्नु पनि ठगीको संकेत हुन सक्ने उल्लेख छ।

    राष्ट्र बैंकका अनुसार अत्यधिक नाफा हुने तर कुनै जोखिम नरहेको दाबी गर्दै आकर्षक प्रस्ताव राख्नु, तुरुन्तै निर्णय गर्न दबाब दिनु वा नयाँ खाता तथा विवरण उपलब्ध गराउन आग्रह गर्नु पनि शङ्कास्पद गतिविधि हुन्।

    ठगीमा परेपछि के हुन सक्छ ?

    राष्ट्र बैंकले ठगीको शिकार बनेपछि पीडितले अन्जानमै आफैं रकम पठाउन सक्ने, युजरनेम, पासवर्ड, पिन र ओटीपीजस्ता गोप्य वित्तीय विवरण चोरी हुन सक्ने तथा मोबाइल वा कम्प्युटरमा रिमोट पहुँच स्थापना गरेर वित्तीय साधनमाथि नियन्त्रण लिन सक्ने जनाएको छ।

    शङ्का लागे के गर्ने ?

    कुनै पनि वित्तीय कारोबारमा शङ्का लागेमा हतारमा रकम नपठाउन, सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता पुष्टि गर्न तथा आवश्यक परे नेपाल प्रहरीको साइबर ब्युरो, सम्बन्धित बैंक तथा वित्तीय संस्था वा नियामक निकायलाई जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

    वित्तीय ग्राहकसँग सम्बन्धित गुनासो दर्ता गर्न राष्ट्र बैंकको अनलाइन पोर्टल www.gunaso.nrb.org.np प्रयोग गर्न सकिनेछ। साथै वित्तीय ग्राहक संरक्षण इकाइको टेलिफोन ०१–५७१९६०५ मा पनि सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार