काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौंको नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।
कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले बैंक र नगरपालिकाबीच सम्झौता गरिएको हो।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले आफ्नो व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नागार्जुन नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८०’ अनुसार योग्य ऋणीले शतप्रतिशत ब्याज अनुदान सुविधा पाउने व्यवस्था गरिएको छ।
सम्झौताले स्थानीय उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा सहयोग पुग्ने बैंकले जनाएको छ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजबहादुर गिरी र नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका छन्।
बैंकले स्थानीय सरकारसँगको सहकार्यमार्फत उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

