काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गत बीमा सुविधाबापत ग्राहकलाई १० लाख रुपैयाँ दाबी रकम हस्तान्तरण गरेको छ।
बैंकका अनुसार बनादेवी बोहराका श्रीमान्को दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी उक्त रकम भुक्तानी गरिएको हो।
बैंकले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गर्दै शोकसन्तप्त परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकका अनुसार परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको वित्तीय सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बैंकले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सुविधा सञ्चालन गर्दै आएको जनाएको छ।
२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ।

